• ११ मंसिर २०८१, मङ्गलबार

थारु समुदाय लक्षित नीति बनाउँदै स्थानीय तह

blog

स्थानीय तह । फाइल तस्बिर

तुलसीपुर (दाङ), माघ ११ गते । जिल्लाका स्थानीय तहहरूले थारु समुदाय लक्षित नीति बनाएका छन् । राप्ती गाउँपालिकाले बडघर ऐन निर्माण गरेको छ । थारु समुदायको गाउँघरमा हुने कामलाई सामूहिकरुपमा गर्ने र न्यायिक कार्य पनि गर्ने गर्छन् । 

यसलाई बडघर भनिन्छ । यो एकताको प्रतीक भएकाले यसलाई कानुनी रूप दिन लागिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । “एकता र सामूहिकतामा थारु समुदायको राम्रो अभ्यास छ”, उहाँले भन्नुभयो, “हामीले यसलाई प्रश्रय दिन ऐन बनाएरै कार्यान्वयनको चरणमा अघि बढेका छौँ ।” साथै थारु समुदायले ‘महतवा’ चुन्ने गरेको र त्यो पनि सामूहिकताको एउटा प्रतीक रहेको उहाँको भनाइ थियो । 

त्यस्तै घोराही उपमहानगरपालिकाले पनि थारु समुदाय लक्षित नीति बनाएको छ । सो नीति बनाएर थारु समुदायका विद्यार्थीलाई मातृ भाषामा शिक्षा दिने तयारी गरेको छ । पालिकाका उपप्रमुख हुमा डिसीका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित रात्रि प्राविमा थारु भाषामा पढाइ सुरु गर्ने तयारी भइरहेको छ ।

त्यस्तै सबै वडामा थारु समुदायका लागि भुह्यारथान पनि निर्माण गरिएको छ । त्यसैगरी मुक्त कम्लरी र कमैयाको आयआर्जनका लागि बजेट पनि विनियोजन गरिएको उहाँको भनाइ थियो । दङ्गीशरण गाउँपालिकाले पनि थारु समुदायको संस्कार र संस्कृति संरक्षणका लागि नीति बनाउने तयारी गरेको छ । पालिका अध्यक्ष शम्भु गिरीले पछिल्लो समय युवापुस्ताले थारु कला, संस्कार, संस्कृति भुल्न थालेकाले त्यसलाई जोगाउन नीति बनाएर अगाडि बढ्ने बताउनुभयो ।

आफूहरू पालिकामा आएपछि थारुको पहिचान जोगाउन विभिन्न कार्यक्रमसमेत गरिएको उहाँको भनाइ थियो । दाङ थारु बाहुल्य भएको जिल्ला हो । जहाँ दङ्गीशरण राजाले राज गरेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ सुकौरामा राज गरेको स्थानमा सङ्घीय सरकार तथा प्रदेश सरकारबाट करोड ५० लाख बजेट प्राप्त भएको छ । अहिले त्यहाँ भ्यूटावर र राजाको सालिक निर्माण गरिएको छ । रासस