• १३ असोज २०८१, आइतबार

बृहत् राष्ट्रिय पारा खेलकुदको तयारी गर्दै राखेप

blog

बृहत राष्ट्रिय पारा खेलकुद आयोजना सम्बन्धी छलफलपछि सामूहिक तस्बिर खिचाउँदै ।

काठमाडौं, माघ ११ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय स्तरको बृहत् पारा खेलकुद प्रतियोगिता योजना गर्ने तयारी गरेको छ ।

अन्य खेलको दुई दुई वर्षमा बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको राखेपले पारा खेलको पनि बृहत् राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी अगाडि बढाएको हो । राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले पार खोल अन्तर्गत सरोकारवालहरूसँग प्रतियोगिता आयोजनाका लागि छलफल गर्नुभएको छ ।

विश्वव्यापी रूपमा ओलम्पिक खेलकुद र एसियाली खेलकुद प्रतियोगिता सम्पन्न भएको केही सातापछि सोही स्तरको पारा खेलकुद आयोजना गर्ने चलन रहँदै आएको छ । सोही अभियानलाई पछ्याउँदै पारा खेलाडीको विकास र हौसला प्रदान गर्न नेपालमा पनि बृहत् राष्ट्रिय खेलकुद सम्पन्न भएपछि बृहत् राष्ट्रिय पारा खेलकुद प्रतियोगिता आयोजना गर्न राखेपको तयारी छ । 

राखेप सदस्य सचिव घिसिङले पहिलोपटक पटक बृहत् राष्ट्रिय पारा खेलकुद आयोजना गर्न राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागकालाई निर्देशन समेत दिनुभएको छ ।राखेपले पारा राष्ट्रिय खेलकुदका लागि निर्देशिका तयार गर्ने र खेलाडी सङ्ख्याका आधारमा खेलको स्वरूप निर्धारण गर्ने समेत सदस्य सचिव घिसिङले बताउनुभयो ।

‘‘चालू आर्थिक वर्षमा  पारा राष्ट्रिय खेलकुदसँग आबद्ध संस्थाहरूको समन्वयमा पाराको नियमित खेलकुद प्रतियोगिता राखेपले आयोजना गर्नेछ । पारा खेलकुदलाई राष्ट्रिय खेल सङ्घले विधानमै अनिवार्य समावेश गरी तत्काल राष्ट्रिय खेल सङ्घलाई पत्राचार गर्न तथा खेल संरचना अपाङ्गमैत्री बनाउने सम्बन्धमा पनि सम्बन्धित विभाग र शाखालाई निर्देशन गरेका छौँ,’’ घिसिङले भन्नुभयो ।