• १३ साउन २०८१, आइतबार

राष्ट्रिय आविष्कार केन्द्रलाई तीन लाख बढी सहयोग

blog

भरतपुरका पौडेल दम्पतीले आफ्नो चौरासी वर्ष पूरा गरेको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुहुँदै । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली 

भरतपुर, माघ ११ गते । भरतपुरका एक दम्पतीले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २ निवासी खिमानन्द पौडेल र उहाँकी श्रीमती कौसल्या पौडेलले आफ्नो चौरासी पूजा गर्दा लाग्ने खर्च बराबरको तीन लाख ६५ हजार रुपियाँ केन्द्रलाई सहयोग गर्नुभएको हो । 

भरतपुरमा आयोजित एक कार्यक्रममा परिवार तथा आफन्तहरू बिचमा राष्ट्रिय वाणिज्य बैङ्कको चेक केन्द्रका सञ्चालक समितिका सदस्य एवम् लेखा अधिकृत हरि सिलवाललाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै दाता पौडेलले पूजा गर्दा हुने फजुल खर्च घटाएर आफूहरूले केन्द्रलाई सहयोग गरेको बताउनुभयो । कार्यक्रममा दाता पौडेलका छोरी ज्वाइँ प्रेम रिमालले धर्मसंस्कृति पच्छाउने नाममा अहिलेको अग्रगामी परिवर्तनलाई अँगाल्न आफूहरूले चौरासी पूजाको खर्च कटौती गरेर दान गरेको बताउनुभयो । 

“अब हामीले पुरानो सोच बदलौँ । अग्रगामी परिवर्तनलाई पच्छाएर अगाडी बढ्नु नै अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो ।  

कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवम् संविधान सभा सदस्य विक्रम पाण्डेले धर्म संस्कृतिको संरक्षण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । “हामीले हाम्रा धर्म संस्कृति छाड्दै गयौँ भने हाम्रा मौलिकता हराउँदै जाने छ भन्ने तर्फ पनि ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । 

कार्यक्रमका वक्ताहरूले चौरासी वर्ष पुरा गर्नुभएका खिमानन्द र उहाँकी  श्रीमती कौसल्याको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेका छन् । दाता दम्पतीलाई सम्मान गरिएको सो कार्यक्रम उहाँहरूका छोरा सुदर्शन पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।