• १३ साउन २०८१, आइतबार

९ करोड लगानीमा बनेको बागलुङ बसपार्क प्रयोगविहीन

blog

प्रयोगविहीन बागलुङ बसपार्क । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

बागलुङ, माघ ११ गते । बागलुङमा निर्माण गरिएको आधुनिक बसपार्क प्रयोगविहीन भएको छ । बागलुङ नगरपालिका ४ उपल्लाचौरमा करिब नौ करोड रुपियाँ लागतमा निर्माण भएको उक्त बसपार्क निर्माण सम्पन्न भएको साढे दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । 

बसपार्कका लागि जग्गा उपलब्ध गराउने जग्गादाता र नगरपालिकाबीच भएको सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा बसपार्क सञ्चालनमा ल्याउन समस्या भएको हो । नगरविकास कोषको ऋण सहयोगमा नगरपालिकाले ठेक्कामार्फत २०७८ असारमा बसपार्क निर्माण सम्पन्न गरिएको थियो । 

बसपार्कमा सुविधासम्पन्न टिकट कक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ । बसपार्क बनाउन जग्गा उपलब्ध गराउने जग्गादाता र नगरपालिकाबीचको समझदारी कार्यान्वयनमा समस्या र फराकिलो पहुँचमार्ग नहुँदा बसपार्क सञ्चालनमा ढिलाई भएको बागलुङ नगरपालिका ४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘बसपार्क सञ्चालनमा ल्याउन धेरै ढिलाई भइसकेको छ । जग्गा व्यवस्थापन समितिसँग नगरपालिकाले गरेको १२ बुँदे समझदारी कार्यान्वयनमा ढिलाइ र पहुँचमार्ग बनाउने विषयमा विवाद हुँदा बसपार्क सञ्चालनमा ढिलाइ भएको हो । पहुँचमार्ग निर्माणका लागि वैकल्पिक सडकको व्यवस्था भइसकेको छ । अब चाँडै नै बसपार्क सञ्चालनमा आउँछ ।’’ 

यता नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कामहरु सकिएको र जग्गा व्यवस्थापन समितिले गर्नुपर्ने काम बाँकी रहेकाले बसपार्क सञ्चालनमा ल्याउन ढिलाइ भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘बसपार्कका सम्बन्धमा नगरपालिकाले गर्नुपर्ने सम्पूर्ण काम गरिसकेका छौं । जग्गा व्यवस्थापन समितिले यतिखेर जग्गादाताहरुलाई उपलब्ध गराउने घडेरीको काम गरिरहेको छ । नगरपालिकाले पहुँच मार्ग कालोपत्रे गरेर दुई चार महिनाभित्रमा बसपार्क जसरी पनि सञ्चालनमा ल्याउने योजना बनाएको छ ।’’

स्थानीयवासीहरुले निःशुल्क उपलब्ध गराएको स्थानमा बसपार्क बनाउन नगरपालिकाले आठ करोड ८० लाख ६४ हजार एक सय ९८ रुपियाँ खर्च गरेको छ । बसपार्क निर्माणका लागि स्थानीय २२ घरपरिवारले साढे १७ रोपनी जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए । जग्गा व्यवस्थापन समितिमार्फत बसपार्कको जग्गा व्यवस्थापन गरिएको थियो । बसपार्क बनाउन प्रयोग भएको जग्गा बाहेकको जग्गा समितिले पुनः जग्गादातालाई प्लटिङ गरेर फिर्ता दिनुपर्ने समझदारी भएको थियो । 

‘‘बसपार्कका लागि दिइएको जग्गाबाहेकको १२ रोपनीमा क्षेत्रफल भएको जग्गामा घडेरीका लागि  नक्साङ्कन, सडक, ढल, नाली, पानी, बिजुलीजस्ता पूर्वाधार निर्माण गर्नुपर्ने काम नगरपालिकाले सम्पन्न गरिसकेको छ,’’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘‘जग्गाधनीहरुलाई जग्गा फिर्ता दिने काम जग्गा व्यवस्थापन समितिको हो । नगरपालिकाले सबै काम सकेको छ । अब पहुँच मार्ग निर्माण गरेर दुईचार महिनाभित्रमा बसपार्कको भव्य उद्घाटन गर्ने योजना बनाएका छौं ।’’