• १३ साउन २०८१, आइतबार

माटोमा अम्लीयपन बढ्दा उत्पादन घट्दो

blog

बेलबारी (मोरङ),  माघ १० गते । किसानले बालीमा जथाभाबी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लीयपन बढ्दै गएको छ । कोशी प्रदेशमा ८० प्रतिशत अम्लियपनयुक्त माटो रहेको कोशी प्रदेशस्थित माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय झुम्का सुनसरीले जनाएको छ ।

किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेकाले माटोले उत्पादकत्व गुमाउँदै गएको कार्यालयका प्रमुख विगम्बर यादवले जानकारी दिनुभयो । “प्रदेशका विभिन्न ठाउँमा नमुना जाँच गरिएको धेरैजसो माटोमा ८० प्रतिशत अम्लीयपन फेला परेको छ । दशवर्ष अघिभन्दा अहिले झण्डै २५ प्रतिशत हाराहारीमा अम्लीयपन बढेको छ”, उहाँले भन्नुभयो ।

मोरङ बेलबारी नगरपालिकाको सहजीकरण तथा प्रयोगशालाको आयोजनामा बेलबारीस्थित घुम्ती प्रयोगशालामार्फत माटो परीक्षण शिविरमा स्थानीय ५६ किसानको सहभागिता थियो । 

उक्त शिविरमा किसानद्वारा परीक्षणका लागि ल्याइएका माटोको अम्लीय, क्षारीय, नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ र माटोको भूवनोट जाँच गरिएको प्रमुख यादवले जानकारी दिनुभयो । उहाँका अनुसार समग्र प्रदेशभरीको माटोमा प्राङ्गारिक मलको मात्रा निकै कम देखिएको छ  । “जसमा नाइट्रोजन ५६, फस्फोरस ६२ र पोटास ७४ प्रतिशतले कमी देखिएको छ । यो खेतीयोग्य जमिनका लागि दुर्भाग्य हो”, उहाँले भन्नुभयो ।

अम्लीयपन माटोमा प्रत्येक वर्ष बढ्दै गएको छ । बर्सेनि रासायनिक मलको प्रयोग बढ्दै जानु र प्राङ्गारिक मलको प्रयोग घट्नु, बाली सघनता बढ्नु र बाली चक्र नअपनाउनाले माटोको उर्वरा शक्ति घट्दै गएको प्रमुख यादवको भनाइ थियो । 

“माटोमा रासायनिक मलको प्रयोग बढ्दो छ । सन्तुलित रूपमा मलको प्रयोग गर्दै प्राङ्गारिक पदार्थ बढाउनुपर्छ”, कृषि विज्ञ राजेन्द्र उप्रेतीले भन्नुभयो, “बालीचक्र बिचमा एक पटक कोसेबाली लगाउनु अनिवार्य छ ।” सजिलोको नाममा मकै, धानलगायत बाली उठाइसकेपछि बोटलाई खेतमै जलाउने गर्नाले माटोको गुणलाई नष्ट गरी गँड्यौला, कमिलालगायत जीवलाई समेत नष्ट गर्ने उहाँले बताउनुभयो । 

“माटोमा पाइने गँड्यौला, कमिलालगायत जीवले माटोलाई उर्वर बनाउन मद्दत गर्छन्”, कृषि विज्ञ उप्रेतीले “यसरी खेतमा आगो लगाउँदा ती जी जलेर नष्ट हुँदा माटोको उर्वराशक्तिमा पनि कमी ल्याउँछ ।” माटोमा भएको अम्लीयपन सुधारका लागि खेतीयोग्य जमिनमा हुने उत्पादन क्षमता कायम राख्नुपर्ने उहाँको भनाइ थियो । माटोको उत्पादन बढाउन नियमित माटो परीक्षण गराउने, चुन र प्राङ्गारिक मलको प्रयोग बढाउनेलगायत काम गर्नुपर्ने कृषि प्राविधिकले सुझाव दिनुभएको छ । रासस