• २७ वैशाख २०८१, बिहिबार

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीसँग बागमती स्तब्ध

blog

त्रिवि क्रिकेट मैदानमा गण्डकी र बागमतीका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ ९ गते । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि दाबेदार बागमती प्रदेश गण्डकी प्रदेशसँग स्तब्ध बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा बागमती गण्डकीसँग तीन विकेटले पराजित भयो ।

गण्डकीसँगको हारले बागमतीको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ । जितका लागि एक सय ९९ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले ४९.३ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

गण्डकीको जितमा युवा ब्याट्सम्यान करन पङ्गेनी र स्पिनर कमल परियारको उत्कृष्ट प्रदर्शन गर्नुभयो । करन पङ्गेनीले सर्वाधिक ७९ रन बनाउनुभयो । ईश्वर क्षेत्रीले ३६, मुस्कान थापाले २७, कमल परियारले २० र समीर कँडेलले १९ रन जोड्नुभयो । बलिङमा बागमतीका प्रतिश जिसीले दुई विकेट लिनुभयो । तथा रिजन ढकाल, सूर्य तामाङ र विपिन आचार्यले एक एक विकेट झार्नुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोगरेको बागमतीले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९८ रन बनाएको थियो । बागमतीका लागि आशुतोष घिरैयाले सर्वाधिक ४४ रन बनाउनुभयो । यस्तै ईशान पाण्डेले ४३, विपिन आचार्यले ३८, अशोक पौडेलले ३०, सूर्य तामाङले १५ र कप्तान रित गौतमले १३ रन जोड्नुभयो । 

बलिङमा गण्डकीका कमल परियाले १० ओभरमा एक मेडनसहित ३१ रन खर्चिएर चार विकेट लिनुभयो । कप्तान विपिन खत्री र अमृत गुरुङले दुई दुई तथा सन्दीप पराजुलीले एक विकेट झार्नुभयो ।हारसँगै सात खेलबाट आठ अङ्क बनाएको बागमती दोस्रो स्थानमा छ ।

विजेता गण्डकी चार अङ्कसहित आठौँ स्थानमा छ । शीर्षस्थानमा रहेको नेपाल पुलिस क्लबको चार खेलबाट आठ अङ्क पुगेको छ । तेस्रो स्थानमा रहेको मधेश प्रदेशले ६ खेलबाट आठ अङ्क बनाएको छ । चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको पनि ६ खेलबाट आठ अङ्क पुगेको छ । १० टोलीको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ ।