• ८ असार २०८१, शनिबार

शैक्षिक व्यवस्थापन सुधार गर्न विद्यालयमा सिसी क्यामरा

blog

मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयमा सीसी क्यामरा जडान।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ९ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा सिसी क्यामरा जडान गरिएको छ। गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा सिसी क्यामरा जडान गरिएको हो।

शैक्षिक स्तर खस्किँदै गएको अवस्थालाई दृष्टिगत गरी शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा व्यवस्थित शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षासहित विद्यालयमा सिसी क्यामेरा जडान गरिएको हो। विद्यालय परिसर, कार्यालय, कक्षाकोठा लगायतको निगरानी गर्न सकिने गरी सिसी क्यामरा जडान गरिएको विद्यालयले जनाएको छ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार नेपाल सरकार नमुना विद्यालय विकास कार्यक्रमको शैक्षिक गुणस्तर सुधारअन्तर्गत नारायणी माविमा सिसी क्यामरा जडान गरिएको हो। 

अध्यक्ष वनेमका अनुसार सो विद्यालयमा २६ वटा नयाँ सिसी क्यामरा जडान गरिएको छ भने ११ वटा पुरानो क्यामरालाई पनि मर्मत गरी सुचारु गरिएका छन्। यस्तै विद्यालयमा शिक्षकको डिजिटल हाजिरीको सुरुवात गरिएको उहाँले जानकारी दिनुभयो। एकथान स्मार्ट बोर्ड पनि जडान गरिएको विद्यालयले जानकारी दिएको छ। 

त्यस्तै गाउँपालिकाले छुट्टै नमुना विद्यालय विकास कार्यक्रम लागू गरी छनोट भएको मैवाखोला माध्यमिक विद्यालयमा चालू आर्थिक वर्षभित्रै सिसी क्यामरा जडान गर्ने तयारी गरिएको पालिका अध्यक्ष वनेमले बताउनुभयो।

सिसी क्यामरासँगै शिक्षक डिजिटल हाजिरी र स्मार्ट बोर्डको व्यवस्था हुने उहाँको भनाइ छ। पालिकाभित्रका अन्य माध्यमिक विद्यालयहरूमा पनि क्रमशः इन्टरनेट सेवा विस्तार गरी विद्यालय विकास कार्यक्रम लागू गर्दै जाने गाउँपालिकाले जनाएको छ।