• १६ भदौ २०८१, आइतबार

कोशी प्रदेशकै सुविधासम्पन्न टाउन हल निर्माणको अन्तिम चरणमा

blog

सुनसरीको लौकही बजारमा निर्माणकोे अन्तिम चरणमा रहेको कोशी प्रदेशकै ठुलो र सुविधासम्पन्न टाउन हल । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, माघ ९ गते । सुनसरीको कोशी गाउँपालिकामा निर्माणाधीन कोशी प्रदेशकै ठुलो र अत्याधुनिक सुविधासम्पन्न टाउन हल निमार्णकोे अन्तिम चरणमा पुगेको छ । कोशी गाउँपालिका १ लौकहीमा २०७६ साल असारमा तत्कालीन अर्थमन्त्री तथा सङ्घीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले टाउन हलको शिलान्यास गर्नुभएको थियो । टाउन हल निर्माण सुरु भएको चार वर्षमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । 

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले टाउन हल सञ्चालनमा आएपछि स्थानीयवासीले हलको उपयोग गर्न पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच सयदेखि सात सय जनासम्म अट्ने टाउन हलमा सरकारी कार्यक्रम गोष्ठी, सेमिनारदेखि स्थानीयवासीले विवाह, व्रतबन्ध गर्नको लागि हल प्रयोग गर्न पाउनेछन् ।”

वडाध्यक्ष अन्सारीका अनुसार टाउन हालको रङराेगन र भित्री सजावटका काम गर्न बाँकी छ । लौकही बजारको १८ कठ्ठा क्षेत्रफलमा फैलिएको कोलनीेभित्र पाँच कठ्ठा दुई धुर क्षेत्रफलमा सभाहल निर्माण भएको छ । 

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वन्यन एकाइ विराटनगरले टाउन हलको कार्य सुरु गरेको थियो । दुई वटा सभाहलमा पाँच सय र तीनसय अटाउने क्षमता भएका हल छन् । हलमै चमेनागृह, अतिथिका लागि बैठक कक्ष र पार्किङ स्थल छन् । 

कोशी गाउँपालिकाको अध्यक्ष अन्सारीका अनुसार पूर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएको समयमा टाउन हलको परियोजना ल्याउनुभएको थियो। हामीले पनि यस्तो हल कोशी गाउँपालिकामा बन्ला भनेर सोचेका थिएनौँ । सभाहलमा अपाङ्गमैत्री शौचालय, पार्किङलगायतका संरचना बनेका छन् । 

सरकारी भवन निर्माण भएसँगै बाहिरी मान्छेहरुको चहलपहल हुँदा कोशी गाउँपालिकाको आयमा वृद्धि हुने स्थानीयको बुझाइ छ । कोशी गाउँपालिका-३ का गुलाबी मुखिया भनुहुन्छ, “पुरानो बजार लौकहीमा कोशी प्रदेशकै ठुलो सभाहल बन्दा गाउँपालिकाकै इज्जत बढाएको छ ।” कोशी गाउँपालिकाको सबै मूल बाटाहरु पिच (कालो पत्रे) भइसकेका छन् । गाउँपालिकामा भएका सडक सञ्जाल लगायतका विकासका कामहरुले कोशी गाउँपालिका विकासको नमुनाको रुपमा अगाडि बढ्दै गएको छ ।  

लौकहीमा सुविधा सम्पन्न टाउन हल निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन् । स्थानीय नारायण मण्डलले भन्नुभयो, “ठुला योजनाले कोशी गाउँपालिकाको मुहार फेरिँदै गएको छ । २०६५ सालमा कोशी फुटेपछि बिचल्ली भएको क्षेत्रमा एकपछि अर्को विकासका कामले गाउँपालिकामा विकासको लहर आएको छ ।” 

सभाहलसहित निर्माणाधीन अन्य संरचनासहित ३२ करोड ५० लाख ३९ हजार ९२ रुपियाँ बजेटबाट हल निर्माण भएको हो । निमार्णकार्य गौरी पार्वती, ए.एन के, बंगलामुखी जे.भी.ले ठेक्का पाएर काम गर्दै आएको छ । कोशी गाउँपालिका क्षेत्रमा मानिसको बसोबास समेत बाक्लिन थालेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षको मुख्य कार्यालय कोशी गाउँपालिका क्षेत्रमै भएकाले आन्तरिक र बाह्य पर्यटक पालिका क्षेत्रमै सञ्चालनमा रहेका होटल र होमस्टे (घर बास) हरुमा बस्ने गरेका छन् ।