• १३ साउन २०८१, आइतबार

विद्यार्थीलाई सीपमूलक तालिम

blog

तालिमका क्रममा आफूले बनाएका सामग्रीसँग तस्बिर खिचाउँदै फिदिम ६ का विद्यार्थी । तस्बिर : राधा लुइँटेल

राधा लुइँटेल

फिदिम, माघ ८ गते । पाँचथरको फिदिम नगरपालिका ६ सिवाका विद्यार्थीलाई वडा कार्यालयले बाँसका सामग्री निर्माण गर्न सीपमूलक तालिम दिएको छ । वडा कार्यालयले शिद्वकालिका माध्यमिक विद्यालय कक्षा ७ देखि ९ सम्म अध्ययन गर्ने ३० जनालाई यस्तो तालिम दिएको हो ।

११ दिनसम्म चलेको तालिममा बाँसबाट बुक¥याक, टुल, टेबल र सिलामसाक्मा बनाउन सिकाइएको वडाध्यक्ष विपन तुम्रोकले बताउनुभयो । अध्ययन अध्यापनसँगै अतिरिक्त सिप उपलब्ध गराउन यस्तो तालिम दिइएको तुम्रोकको भनाइ छ ।

तालिमको समापन कार्यक्रममा फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले तालिमले विद्यार्थीहरूलाई व्यवहारिक रूपमा पनि सबल बनाउन सहयोग पुगेको बताउनुभयो । फुर्सदको समयमा सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुभन्दा पनि यस्ता सिपमूलक काममा समयको सदुपयोग गर्न विद्यार्थीलाई उहाँको सुझाव छ ।

पढाइबाट बचेको समयलाई सदुपयोग गर्दै विद्यार्थीलाई आयआर्जनसँग जोड्ने उद्देश्यले तालिमको आयोजना गरिएको जनप्रतिनिधिहरू बताउँछन् । तालिमको सहजीकरण चूडामणि बाँस्कोटा र विमला नेम्बाङले गर्नुभएको हो ।