• १३ साउन २०८१, आइतबार

अयोध्यामा रामको मूर्ति प्राण प्रतिष्ठाको साइतमा कालिगण्डकीमा लाख बत्ती प्रज्वलन

blog

देवशिला उद्यमस्थल गलेश्वर स्थित कालिगण्डकी नदी किनारमा लाखबत्ति प्रज्वलन गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ ८ गते ।
 भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको साइत पारेर म्याग्दीको गलेश्वरधामस्थित कालिगण्डकी नदी किनारमा सोमबार लाख बत्ती प्रज्वलन र पूजापाठ गरिएको छ ।

गत वर्ष गलेश्वर नजिक कालिगण्डकी नदी किनारबाट रामललाको मूर्ति बनाउन दुईवटा देवशिला अयोध्या लगिएको थियो । देवाशिला उत्खनन गरिएको कालिगण्डकी नदी किनारलाई श्रीरामघाट नामकरण गरिएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोष र बेनी नगरपालिकाले गलेश्वर नजिक देवशिलाको उद्यगमस्थल कालिगण्डकी किनारमा आज दिउँसो १२.२९ मिनेटको सुभ साइतमा जगदगुरु हिमालय बाबाको उपस्थितिमा लाख बत्ती प्रज्वलन र पूजापाठ गरिएको छ ।


गलेश्वर शिवालय मन्दिरबाट भजनकृर्तन र बाजागा सहित शोभायात्रा गरेर देवशिला स्थलमा आएर लाख बत्ती बालिएको हो । देवशिला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । उक्त देवशिलाबाट रामललाको मूर्ति नबनाए पनि अहिले पूजा र दर्शनका लागि राममन्दिरको गर्भगृहमा राखिएको छ ।

देवशिला उत्खनन गरेको क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना बनाएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भारतको अयोध्यामा रामको मूर्तिको प्राण प्रतिष्ठा गर्ने साइत पारेर हामीले देवशिलाको उद्गमस्थलमा दीप प्रज्वलन गरेका छौँ । अगामी दिनमा यस स्थलमा पूर्वाधार निर्माण गरेर धार्मिक स्थलका रूपमा विकास गर्ने योजना छ ।’’ 

‘‘आज भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राणप्रतिष्ठा हुँदै छ । यहाँबाट लगिएका दुईवटा देवशिला राममन्दिरको गर्भगृहमा राखिएको छ,’’ जगदगुरु हिमालय बाबाले भन्नुभयो, ‘‘तिनै देवशिलाको उद्यगमस्थल कालिगण्डकी नदी किनारमा लाख बत्ती प्रज्वलन गरेर विश्वभर धार्मिक सन्देश प्रवाह गरेका छौँ ।’’


यस श्रीरामघाटलाई गङ्गा स्नान स्थलका रूपमा विकास गरी कागबेनी, मुक्तिनाथ र दामोदरकुण्ड जाने धार्मिक भक्तजनहरूले यसै क्षेत्रमा कालिगण्डकीको स्नान गर्दा पुण्य प्राप्त हुने सन्देश प्रवाह गर्न खोजिएको उहाँले बताउनुभयो । 

हिन्दुको प्रसिद्ध धार्मिकस्थल अयोध्यामा भगवान् श्रीरामको बालरूपको मूर्ति निर्माण गर्न भन्दै शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालिगण्डकीको शिला लगिएको थियो । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ तथा तीन दशमलव पाँच फिट मोटाइका दुई शिला उपहार दिइएको हो । तर उक्त शिलाबाट मूर्ति बनाउन विवाद भएपछि नबनाई राखिएको छ ।