• ८ मंसिर २०८१, शनिबार

टोपी भिसामा अस्ट्रेलिया

blog

उच्च शिक्षाका लागि बिदेसिएकी छोरीको दीक्षान्त समारोहमा भाग लिन हामी अस्ट्रेलिया जाने भयौँ । कोभिड प्रकोपको सुरुवाती दिनहरूमा उसले नेपाल छोडेको पनि तीन वर्ष भएछ । पासपोर्ट हात लागेको खुसियाली डेङ्गुले खोस्यो । भिसा लाग्न चाहिँ समय लागेन । निवेदन दिएको चार दिनमै प्रक्रिया र सुशासनको स्वाद चाख्न पाइयो । अनि हवाईजहाजको टिकट लिने उपक्रम सुरु भयो । हवाई भाडा, यात्रा समय, ट्रान्जिट समय आदिको समीकरण मिलाउँदा मलेसियन एयरलाइन्सको उडानबाट क्वालालम्पुर हुँदै सिड्नीसम्मको यात्रा टुङ्गो लाग्यो ।

कङ्गारुको देश भनेर सामान्य ज्ञानमा पढेको मात्र थिएँ, अब प्रत्यक्ष त्यहीँ पुग्ने अवसर आएकोमा छोरीज्वाइँलाई धन्यवाद दियौँ हामीले । यसरी छोराछोरीको निम्तोमा पाइने भिसालाई ठट्यौलीमा ‘तेल भिसा’ वा ‘टोपी भिसा’ भनिँदोरहेछ । इष्टमित्रहरूले ‘कुन भिसामा जान लाग्नुभयो ?’ सोधेर हैरान पारेका थिए । टोपी भिसामा भनेपछि बधाई पनि दिए मित्रहरूले । त्यो बधाई छोरीको उच्च शिक्षा समापनका लागि थियो कि हामीले भिसा पाएकोमा थियो त्यो चाहिँ सोधिनँ ।

२०७९ को चैत ११ गते दिउँसो १ बजे हामी उड्यौँ । छिनभरमै हवाईजहाज नेपालको आकाश छिचोलेर भारतको आकाशमाथि तीव्र गतिमा उड्यो । यो हामी दुवैको पहिलो अन्तर्राष्ट्रिय उडानको अनुभव थियो । दृश्यावलोकनका लागि सहज होस् भनेर छोराले झ्यालको सिट काटिदिएको थियो तर जुन उचाइमा जहाज उडेको थियो आकाशमार्गबाट बादलका पत्रपत्र र समुद्रको पानीबाहेक केही देखिएन । अवतरणमा भने क्वालालम्पुर र सिड्नी सहरको भव्यता देखिएला भन्ने आशा बाँकी नै थियो । समुद्रमा भएको सूर्यास्त चाहिँ अलौकिक थियो । मैले सानो डायरी बोकेको थिएँ, उडिरहेको जहाजमै म कविता कोर्न थालेँ । 

देखिँदैन कतै केही जमिन, बस्ती, जङ्गल 

एकोहोरो उडेको छ आकाशमाथि झल्मल ।

देखियो सागरैमाथि लालिमा सूर्य अस्तको

अद्भुत छ चित्र ओहो त्यो दिव्य हस्तको ।।

बेलुका ८ बजे हामी मलेसियाको भूमिमा ओर्लिंदा मेरो घडीमा भने पौने छ देखाइरहेको थियो । टुटेफुटेको अङ्ग्रेजी बोल्न सक्ने भए पनि ट्रान्जिटमा अप्ठ्यारोमा परिएला कि भन्ने डर त्यहाँ देखिएका थुप्रै नेपाली अनुहारले विलीन गराइदिएका थिए । मलेसियन समयको राति साढे एघार बजे हामी विशालकाय जहाजभित्र पस्यौँ । काठमाडौँबाट आएको भन्दा निकै भव्य त्यो जहाजले आठ घण्टामा अस्ट्रेलियाको प्रमुख सहर सिडनी पुर्‍यायो । श्रीमतीज्यूका भदा हामीलाई लिन विमानस्थलमा आएका थिए । त्यो दिन उनैको डेरामा बस्ने र भोलिपल्ट सबेरै छोरीज्वाइँ भएतर्फ जाने योजना थियो ।

सिड्नी विमानस्थलमा उत्रेपछि आफ्ना सुटकेस झोलाहरू लिने ठाउँमा धेरैबेर पर्खिंदा लगेज आइपुगेन । हाम्रा पाँच वटा सुटकेस थिए, काठमाडौँ विमानस्थलमै छुटेछन् कारण बुझ्दा काठमाडौँमा हावा धेरै चलेकाले लोड गरिसकेका लगभग सय वटा सुटकेस ओरालेछन् जहाजबाट । सामान आइनपुगेको जानकारी त्यहाँका कर्मचारीलाई गराएपछि एउटा फारम भरेर काउन्टरमा बुझाइयो । हामी छोरीज्वाइँ बस्ने टाउन्सभिल सहर जानुपर्ने भएकाले सोही सहरसम्म सामान पु-याइदिने बेहोरा पनि फारममा जनायौँ । हामी पुगेको पाँच दिनपछि मात्र सामान फेला पायौँ । मेरा र श्रीमतीज्यूका लुगा, औषधि र कोसेलीपात तिनै सुटकेसमा भएकाले पाँच दिन छोरी र ज्वाइँका लुगा लगाएर हामीले काम चलायौँ । खाइरहेको पत्तामा केही दिनका लागि पुग्ने रक्तचापको औषधी बाँकी रहेको हुँदा अभर भने परेन ।

सिड्नीबाट दुई घण्टाको उडानबाट पुगिने क्विन्सल्यान्ड राज्यको टाउन्सभिलतर्फ हाम्रो यात्रा भयो । टाउन्सभिल एयरपोर्टमा बिहान सवा आठ बजे सकुशल उत्रियौँ । त्यहाँ हामीलाई पर्खेर छोरीज्वाइँ बसेका थिए । साढे तीन वर्षपछिको त्यो भेट निकै महत्वपूर्ण थियो । उनीहरूलाई बिदाइ गर्दा रसाएका श्रीमतीज्यूका आँखा फेरि रसाए । जेम्स कुक युनिभर्सिटीबाट छोरी प्रभाले स्नातकोत्तर उत्तीर्ण गरेकी थिइन् सोसल वर्क विषयमा । त्यही दीक्षान्त समारोहका लागि हामीले लामो यात्रा गरेका थियौँ । अस्ट्रेलियामा धेरै नेपाली पुगेका छन्– अध्ययन गर्न, कमाउन अनि भावी सन्ततिको भविष्यका लागि स्थायी रूपमै घरजम गर्न । यसरी नेपाली छोराछोरीहरूको बिदेसिने क्रम डरलाग्दो रूपमा बढेको छ । निकट भविष्यमा पनि रोकिने कुनै सङ्केत पनि छैन । एमबिए सकेर बैङ्कमा राम्रो जागिर गरिरहेकी छोरी फेरि अध्ययन गर्न अस्ट्रेलिया गएकी थिइन् । बढ्दो नैराश्यबिच उनीहरूलाई नेपालमै बस्न मैले प्रेरित गर्न सकिनँ । पढ्दै काम गर्दै पिआरको प्रयासमा भएकाले ठुला सहरभन्दा अलि टाढाको बसाइ उनीहरूको रोजाइमा परेको रहेछ ।

चैत १५ गते चैतेदसैँका दिन दीक्षान्त समारोह भयो । महत्वपूर्ण समारोह भएकाले दौरासुरुवाल अनि ढाकाटोपीमा ठाँटिएर कार्यक्रममा सहभागी विदेशीलाई नेपाली पहिरनको सान देखाउने इच्छा भने लगेज छुटेकाले मलेसियन एयरलाइन्सले खोसिदियो । सो विश्वविद्यालयमा नेपाली, भारतीय, चिनियाँ, अफ्रिकी, युरोपेलीलगायत विभिन्न अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययन गर्ने रहेछन् । विद्यार्थीहरूका परिवारसहितको सहभागिताले गर्दा कार्यक्रम सानदार साथै सुन्दर थियो ।

टाउन्सभिलमा हामीले जीवनमै पहिलो पल्ट समुद्र देख्यौँ र स्पर्श ग-यौँ । अथाह जलराशिको समुद्र देख्दा हाम्रा सप्तकोशी र नारायणी त कुलो जस्ता पो लाग्यो । जता हेर्‍याे त्यतै पानी । घाम ढल्न लाग्दा अझ सुन्दर लाग्ने । अनि छाल र त्यसका आवाजहरू । प्लास्टर गर्न चालेर ठिक्क पारिएको जस्तो बालुवाको अथाह किनारमा खाली खुट्टा हिँड्दा बेलाबखत हुने छालको स्पर्शको मजा नै बेग्लै समुद्रसितको त्यो पहिलो साक्षात्कार निकै रोमाञ्चक थियो । अस्ट्रेलियाका मुख्य बस्ती सहरहरू सबै समुद्र किनारमा बनेका रहेछन् । सिडनी, मेलबर्न, ब्रिसबेन, केर्न्स, पर्थ, एडिलेड, डार्बिन यी सबै समुद्री किनारमा अवस्थित छन् । मरुभूमिले धेरै क्षेत्रफल ओगटेको रहेछ विशेष गरी टापुको मध्यभाग जङ्गलको क्षेत्र र जीवजन्तुका प्रजाति पनि उल्लेख्य रहेछ । केही वर्षअघि अस्ट्रेलियाका जङ्गलमा ठुलो आगलागी भएको र त्यो आगो ६ महिनामा पनि निभेन भन्ने समाचार पढेको थिएँ । सो आगलागीले करोडौँ जीवजन्तुलाई विस्थापित गरेको र कङ्गारूपछि अस्ट्रेलिया चिनाउने सानो सानो भालु जस्तो देखिने लोपोन्मुख कोएलाको सङ्ख्यामा नराम्रो असर परेको कुरा छोरीले बताइन् ।

जङ्गल धेरै हुनाले घरका फर्निचर तथा निर्माण सामग्रीमा अधिकांश काठ नै प्रयोग भएको पाइयो । काठका दुईतले घर धेरै थिए भने सिमेन्टका पक्की घर त फाट्टफुट्ट देखिन्थे टाउन्सभिलमा । हामी बसेको ठाउँमा खेतीपाती गरेको देखिएन । खेलकुद मैदान, चौर, पार्क, उद्यान, वाटिका चाहिँ जताततै देखिन्थे । ६०, ६५ किलोमिटर टाढा गएपछि भने बिघौँबिघामा उखुखेती र केराखेती गरेको भेटियो । हजारौँको सङ्ख्यामा गाई पालन हुने रहेछ । कहीँकहीँ घोडा पालेको पनि देखियो । बिहानीपख फाट्टफुट्टबाहेक सहरमा पैदलयात्री कतै देखिएनन् त्यहाँ । सबैसित कार हुँदोरहेछ । एउटै घरमा ५, ६ वटा कार पार्किङ गरेको देखियो । व्यक्तिपिच्छे सवारी भएपछि कोही कसैसँग निर्भर हुनुपरेन । प्रातः भ्रमणमा कुकुर डोर्‍याएर हिँड्थे मानिसहरू अनि साथमा देखिन्थ्यो प्लास्टिकको झोला । कुकुरले बिस्ट्याएमा थपक्क टिपेर झोलामा हाल्ने रहेछन् । ‘बुवा, छोराछोरीभन्दा बढी माया गर्छन् खैरेहरू आफ्ना कुकुरलाई’ भन्नुहुन्थ्यो ज्वाइँ । काम गर्न जानेहरू एक दिन पनि फुर्सदिलो हुँदो रहेनछ । झन् कमाएर खाई पढ्ने फिस जोहो गर्नेले त कठोर अनुशासनमा बस्नु परिहाल्यो । हप्ता दिनलाई चाहिने खाद्यान्न ल्याएर फ्रिजमा राखेपछि किनमेल गर्न दिनहुँ जानुपरेन । ततायो, पकायो अनि खायो । बिहान बेलुकै खाना बनाएर खाने समय हुँदो रहेनछ । किनमेल गर्न आधा दर्जन भाटभटेनीभन्दा पनि विशाल सपिङ मल हुँदारहेछन् । ९० वर्षसम्मका ज्येष्ठ नागरिक किनमेल गर्न ट्रली ठेल्दै गरेको देख्दा दीर्घजीवन र स्वस्थ शरीरको सन्तुलन गजबको लाग्यो । आफ्ना काखे बच्चालाई ट्रलीमा डो-याउने गरेको पनि देख्यौँ । घरमा हेरचाह गर्ने मानिस नभएर पो होला कि ?

अस्ट्रेलिया बस्दा यातायातका सबै साधन प्रयोग गरियो । हवाई जहाज, पानीजहाज, फेरी, रेल, मेट्रो, बस, कार आदि । सहरको अवलोकन गर्न ८२ तले सिडनी टावर लिफ्टमै चढियो । अस्ट्रेलियाली ३३ डलर तिरेपछि गगनचुम्बी टावरबाट समुद्र र सहर एकसाथ देखियो । सुरुङको नाममा कलङ्कीको अन्डरपासबाहेक अनुभव नभएको मलाई सिड्नी अन्तर्राष्ट्रिय विमानस्थल आउने ११ किमि लामो सुरुङमार्ग भौतिक विकासको मिठो अनुभव थियो । हार्बर ब्रिज र ओपेरा हाउस अस्ट्रेलियाका पर्यायवाची जस्तै रहेछन्, जहाँबाट सिड्नीको सौन्दर्य सार झल्किन्छ । उता समुद्र सतहमुनि कोरल भनिने हेर्दा निर्जीव देखिने जीव हेर्न लाखौँ पर्यटक ‘ग्रेट बारियर रिफ’ आउने रहेछन् । हामी पनि केन्र्स सहर गयौँ । तर जिन्दगीमा पोखरीमा पनि पौडी नखेलेको मैले समुद्रमा अक्सिजन टङ्की बोकेर पौडिँदै कोरल हेर्ने कुरै थिएन । बरु घर जत्रै ठुला ठुला अक्वारियमका अनेक थरीका माछाको अवलोकन गरियो । छोरीज्वाइँले अस्ट्रेलियाको पूर्वी तटका धेरै ठाउँहरू लैजानुभयो जसमध्ये ब्लु माउन्टेन, पोर्ट डगलस, कर्डवेल, म्याग्नेटिक आइल्यान्ड, रस रिभर ड्याम, सिडनी ओलम्पिक रङ्गशाला, क्यानबेराको संसद् भवन, युद्ध सङ्ग्रहालय, थ्री सिस्टर्स माउन्टेन, जेम्स कुक युनिभर्सिटी, क्यासल हिल, बोटानिकल गार्डेन आदि मेरा लागि उल्लेख्य रहे ।

समुद्रको छाल मनोहर मात्र होइन खेलको मनोरञ्जनका लागि पनि उपयुक्त हुँदोरहेछ । छालमा पौडी खेल्नेहरूको साहसी कला देखियो । सर्फिङभन्दा रहेछन् एकपछि अर्काे छाल आउँदा कुनै कुनै बेला त १५ फिटमाथि उक्लिँदोरहेछ । साथै समुद्रमा मजा लिन बालुवामा निर्वस्त्र सुतेका नरनारी पनि प्रशस्त देखिए । हाम्रो जस्तो लजालु स्वभाव त्यहाँ थिएन । सबै स्वतन्त्र र स्वच्छन्द देखिन्थे । होटल रेस्टुरेन्टहरू आधारातसम्म खुलै हुँदारहेछन् । नेपालमा जस्तै सबै प्रकारका खानेकुरा, सागसब्जी र फलफूल प्रशस्त पाइँदोरहेछ । तोरीको साग र निगुरो मात्र भेटिएन । मौसम नभएर हो कि ? नेपालमा गर्मी हुँदा अस्ट्रेलियामा जाडो अनि जाडो हुँदा गर्मी हुनेविपरीत जलवायुका कारणले जेठ अन्तिममा पनि हामीले ज्याकेट, स्वेटर, मफलर र कानेटोपी लगाउनुपर्‍याे । आँप फागुनमा पाक्ने रहेछ भने लिची असोजमा । धान, गहुँ, मकै, तोरी, आलु सागसब्जीको खेती गरेको कतै पनि देखिएन । बरु तित्रीका चाहिँ ठुलाठुला रुख हुँदारहेछन् यहाँका वरपीपल जस्ता । नगद कारोबार पनि विरलै हुँदोरहेछ । कार्डबाट सबै किनमेल, यात्रा, रेल, बसको भाडा सबै कार्डबाटै भुक्तानी हुने रहेछ । पैसा बोक्ने झन्झटै परेन । सिड्नी घुम्न जाँदा बक्स हिल, सेभेन हिल्स, क्वेकर हिल, पारामाटा, सेन्ट्रल, रिभरस्टोन, फ्लेमिङ्टन, अबर्न, रिचमन्ड, टुङ्गाबी जस्ता रेल्वे स्टेसनबाट हामीले दिनहुँ ओहोरदोहोर ग-यौँ । चार चार मिनेटमा रेल आउँदोरहेछ । कहिल्यै पनि बस, रेलमा भीड भएको देखिएन । अस्ट्रेलियाको लगभग तीन महिनाको बसाइमा कहीँकतै ट्राफिक जाम देखिएन । घुम्ने दिनबाहेक अधिकांश दिन हामी बुढाबुढीले घरमै बितायौँ । प्रातः भ्रमण एक दिन पनि छुटाइएन र फुर्सदका दिनमा टेलिभिजन हेरेर दिन बितायौँ । रामायण, महाभारत, हिन्दी, नेपाली चलचित्र सबै गरेर डेढ सय जति पो हेरियो कि ।

विकास, अनुशासन, नियम कानुन र परिश्रम अनि स्वावलम्बी जीवन बाँच्नेहरूका लागि अस्ट्रेलिया अनुपम रहेछ । त्रियासी दिनको अस्ट्रेलिया प्रवासमा सधैँ नेपाल अनि परिवार र इष्टमित्रको सम्झना आइरह्यो । अनलाइन समाचार हेरेर देशको गतिविधि बुझिरहेँ । २०८० वैशाख २४ गतेको गोरखापत्रको वार्षिकोत्सव पनि भिडियोमार्फत हेरेर आफ्नो २५ वर्षे पदक पाउने दिन अनुपस्थित भएकोमा केही खल्लो अनुभव भयो । जेठ ३२ गते हामीले नेपाल फर्कने गरी दोहोरो टिकट लिएका थियौँ । सिडनीबाट राति ११ बजेको उडानले क्वालालम्पुर हुँदै काठमाडौँमा अवतरण गर्दा असार १ गते दिउँसो १ बजेको थियो । अस्ट्रेलिया बसाइमा भएका अनुभवहरूको लामै सँगालो लिएर जीवनको एउटा छोटोमिठो अध्याय यसरी समापन गरियो । 

धरान, सुनसरी