• २३ असार २०८१, आइतबार

नीलसागरको निर्माणाधीन भवन अलपत्र

blog

अलपत्र अवस्थामा रहेको मानव सेवा आश्रमको निर्माणाधीन भवन । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, माघ ७ गते । असहाय, अशक्त तथा ज्येष्ठ नागरिकहरुको स्याहारसुसार र हेरचाह गरी आश्रय दिँदै आएको नेपालगन्जस्थित नीलसागर सेवाश्रमको निर्माणाधीन भवन रकम अभावका कारण अलपत्र बनेको छ ।

२०७७ सालदेखि भवन निर्माण सुरुवात गरिए पनि रकम अभावका कारण हालसम्म पनि भवनले पूर्णता पाउन नसकेको नीलसागर सेवाश्रम नेपालगन्जका अध्यक्ष सरिता खनालले बताउनुभयो । भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा २५ लाख बजेट छुट्याएर भवन डिभिजन कार्यालयमार्फत् काम सुरु गरिएको उहाँले बताउनुभयो ।

“भवन निर्माणका लागि २०७७ सालमा प्रदेश सरकारले भवन डिभिजन कार्यालयमार्फत २५ लाख बजेट छुट्यायो, त्यो समयमा कोरोना सङ्क्रमणकाल थियो, समय पनि धेरै थिएन, डिभिजन कार्यालयमार्फत जग हाल्नेसम्मको काम सम्पन्न भयो,” उहाँले भन्नुभयो, “२५ लाखमध्ये १७–१८ लाखको मात्र काम गर्न सकियो, जगसम्मको फाउण्डेसन तयार भयो ।”

त्यसपछि २०७८ मा प्रदेश सरकारको ५० लाख र केन्द्र सरकारको १० गरी भवन निर्माणार्थ ६० लाख रकम नेपालगन्ज उपमहानगरपालिकामार्फत आएको उहाँले बताउनुभयो उपमहानगरपालिकाले ६० लाखमध्ये जम्मा दुईलाखको मात्र काम गरिदिएको उहाँको भनाइ छ । “केन्द्र र प्रदेश सरकारबाट आएको ६० लाख रकम उपमहानगरपालिकाले टेण्डरमार्फत काममा लगायो, तर ठेकेदारले उक्त वर्षमा जम्मा दुई लाखको काम ग र्‍य ाे, बाँकी रकम फ्रीज भयो,” अध्यक्ष खनालले भन्नुभयो ।

२०७९ मा प्रदेश सरकारले सोही भवन निर्माणका लागि ५० लाख रकम फेरी उपमहानगरमा पठाएको उहाँको भनाइ छ । उहाँका अनुसार उपमहानगरले टेण्डरमार्फत् ३३ लाख बराबरको काम गरायो । सो वर्षमा भवन निर्माणमा ५५ लाख रुपियाँ खर्च भएको खनालको भनाइ छ । “२०७९ मा ५५ लाखको काम ग र्‍य ाैं, ३३ लाख उपमहानगरले ठेकेदारमार्फत गरायो । छ लाख हामी आफैंले ऋण सापटी गरेका छौं,” उहाँले भन्नुभयो, “बाँकी रकम भने दाताहरुले सहयोग गर्नुभयो ।”

भवन निर्माण सम्पन्न गरिदिनका लागि प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीसँग अनुरोध गरेको उहाँले बताउनुभयो । अर्थमन्त्री मास्कीलाई भवन निर्माण सम्पन्न गरिदिनका लागि प्रस्ताव समेत पेश गरेको र मन्त्री मास्कीले आवश्यक पहल गरि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँको भनाइ छ ।

नीलसागर सेवाश्रमले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ स्थित हडियाबाबा मन्दिर अगाडि दाताले दिएको डेढ कट्ठा जग्गामा लगभग तीन सय जना अट्ने गरी तीन तीन तल्लाका दुईवटा भवन निर्माण सुरु गरेको हो । नियमित रुपमा सहयोगको स्राेत नहुनु र आएको रकम समेत पूर्ण सदुपयोग हुन नसकी फ्रीज भएकै कारण भवन अलपत्र अवस्थामा पुगेको बताउनुहुन्छ सेवा आश्रमका प्रमुख सल्लाहकार कृष्णप्रसाद श्रेष्ठ ।

श्रेष्ठका अनुसार नीलसागरले ५ करोड रुपियाँको लागत अनुमानमा लगभग तीन सय जना अट्ने गरी तीन तीन तल्लाका दुईवटा भवन निर्माण सुरु गरेको थियो । नियमित रकमको स्राेत अभाव तथा आएको रकमको पूर्ण सदुपयोग नहुँदा हालसम्ममा बल्ल एउटा भवनको एक तल्ला निर्माण भएको छ (फिनिसिङ बाँकी) भने अर्को तल्लाको पिल्लरसहित एक तल्ला ढलान भएको छ ।

उहाँका अनुसार प्रदेश सरकारले पठाउने गरेको रकम समयमै नपठाएर आर्थिक वर्षको अन्तिमतिर पठाउनु तथा उपमहानगरमार्फत् पठाउँदा उपमहानगरले समयमै ठेक्का प्रकृया नगर्नु लगायतले गर्दा हरेक सालमा ठूलो मात्राको रकम फ्रीज हुँदा र नियमित आयस्राेतको बाटो नहुँदा भवन निर्माणको काम अलपत्र परेको हो ।

२०७३ साल असोज १२ गतेबाट नेपालगन्जमा सञ्चालनमा आएको नीलसागरमा हाल २ सय २६ जना सडकबाट उद्धार गरिएका मानव, मानसिक असन्तुलन भएका रोगी, गर्भवती महिला, सुत्केरी महिलासहितका असहाय, असक्त, बालबालिका तथा ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् ।

आश्रममा रहेका मानसिक रोगीहरुलाई मनोपरामर्शसहितको उपचार तथा ६३ जना बालबालिकाहरुलाई अङ्ग्रेजी माध्यमका विद्यालयहरुमा पठनपाठन गराइरहेको नीलसागरले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका ९ स्थित बुलबुलिया चोकमा मासिक ५० हजार रुपियाँ तिर्ने गरी भाडाको घरमा आश्रम सञ्चालन गरिरहेको आश्रमका अध्यक्ष सरिता खनालले बताउनुभयो ।

मासिक ६ देखि ७ लाख रुपियाँ खर्च हुने भन्दै उहाँले नेपालगन्ज उपमहानगरपालिकाले गत दुई वर्षदेखि वार्षिक ५–५ लाखका दरले बजेट छुट्याउने गरेको बताउनुभयो । उपमहानगरले दुई वर्ष पहिलेसम्म वार्षिक अढाई लाख रकम छुट्याइदिने गरेको थियो । त्यसैगरी अन्य स्थानीय तहले पनि बेलाबेलामा केही रकम सहयोग गर्दै आएको उहाँको भनाइ छ । दाताहरु र स्थानीय तहबाट प्राप्त रकमले जसोतसो आश्रम चलाइरहेको भन्दै उहाँले भवन निर्माणमा सहयोग गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ ।