• २३ असार २०८१, आइतबार

तिलोत्तमाका सडकमा 'साइकल लेन' निर्माण

blog

रुपन्देहीको तिलोत्तमामा ‘साइकल लेन’ का लागि रोड पेन्टिङ् गरिँदै । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, माघ ७ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सर्भिस लेनभित्र ‘साइकल लेन’ निर्माण गरेको छ । सर्भिस लेनमा ठुला सवारी गुड्नका लागि छुट्टै लेन र साइकलको लागि छुट्टै लेन बनाउने गरी रोड पेन्टिङ भैरहेको तिलोत्तमा नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका इन्जिनियर युवराज पन्थीले पहिलो चरणमा बुटवलको सीमा योगीकुटीदेखि भलबारीचोकसम्म सिद्धार्थ राजमार्गको सर्भिस लेनको दुबैपट्टि ‘साइकल लेन’ का लागि पेन्टिङ भैरहेको बताउनुभयो । दश लाख रुपियाँको लगानीमा लाइनिङ् पेन्टिङ् भैरहेको हो । आफूसहितका प्राविधिकबाट अवलोकन भएको बताउँदै बाटो लाइनिङ् पेन्टिङ् गर्ने कार्य भैरहेको र एक महिनामा काम सकिने उहाँले बताउनुभयो ।

उहाँले तिलोत्तमा नगरपालिकाभित्रका सर्भिस लेनको एक साइडमा साइकल लेनको सुरुवात भएको जानकारी दिनुभयो । साइक्लिङ क्लबहरुले पटक पटक माग गर्दै आएको विषयला दृष्टिगत गर्दै नगरमा रहेका सर्भिस लेनमा साइकल लेन बनाएपछि साइकल यात्री तथा स्थानीयसमेत खुसी भएका छन् ।

यस्तै, बनेको साइकल लेनला सदुपयोग गर्न नगर प्रमुख रामकृष्ण खाँणले आग्रह गर्नुभयो । सबै साइकल यात्रीला साइकल लेनमा मात्र साइकल चलाउन उहाँको आग्रह छ ।  साइकल यात्रीहरूला सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उहाँहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको नगरप्रमुख खाँणको भनाइ छ । 

साइकल लेनला साइकल मात्रै गुड्ने गरी वातावरण मिलाउनुपर्ने साइकल राइडरहरुको भनाइ छ । यसले सडकमा दुर्घटना कमी हुनेछ भने सडक सुन्दरता पनि देखिने अपेक्षा गरिएको छ ।

दैनिक रुपमा हिँड्ने साइकलयात्री अशोक राइले यो अभियानबाट वातावरण प्रदूषण कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो  । रुपन्देही जिल्ला साइक्लिङ् सङ्घका सचिव समेत रहनुभएका राइले नगरपालिकाले गरेको काम सकारात्मक कदम भएको बताउनुभयो ।