• १३ साउन २०८१, आइतबार

नेपाली साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन फागुनमा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ ६ गते । विश्वभरि छरिएर रहेका नेपाली भाषा, साहित्य, संस्कृतिका अध्येता, लेखक, कवि, कथाकार र संस्कृतिविद् आगामी फागुनमा पोर्चुगलमा भेला हुने भएका छन् । 

नेपाली भाषा, साहित्यको उन्नयनका लागि गठन भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन फागुन २५ देखि २७ सम्म पोर्चुगलमा आयोजना हुने भएको छ । 

सो सम्मेलनमा विश्वभरि छरिएर रहेका नेपाली भाषाका साहित्यकारको सहभागिता रहने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो । अध्यक्ष केसीका अनुसार अघिल्लो सम्मेलनमा विश्वभरि रहेका च्याप्टरले नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि गरेका प्रतिबद्धता र हासिल गरेका प्रगतिबारे प्रस्तुति हुने कार्यव्रmम रहेको छ । त्यसै गरी सम्मेलनमा भावी कार्ययोजना र विभिन्न मुलुकमा रहेका नेपाली भाषाका साहित्यकारले भोग्नु परेका चुनौती र अवसरका बारेमा पनि बहस हुने कार्यक्रम रहेको छ । 

सम्मेलनमा उत्कृष्ट काम गर्ने च्याप्टरलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । सम्मेलनको अवसरलाई पारेर साहित्यकारले आफ्ना कृति सार्वजनिक गर्ने गरेको पनि अध्यक्ष केसीले जानकारी दिनुभयो । पोर्चुगलमा आयोजना हुने सम्मेलनका तयारीका काम प्रभावकारी रूपमा सञ्चालन भइरहेका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल च्याप्टरका सचिव गोमा रेग्मीले जानकारी दिनुभयो । 

रेग्मीका अनुसार सम्मेलनमा सहभागी हुने साहित्यकारको सङ्ख्यालाई हेरेर कार्यक्रम स्थल र आवासको व्यवस्थापन गरिने छ । रेग्मीले भन्नुभयो, “विश्वभरिका सबै च्याप्टरबाट साहित्यकार सहभागी हुने भएकाले अझै सङ्ख्या यकिन भइसकेको छैन । सम्मेलनमा सहभागी हुने साहित्यकारको विवरणबारे सबै च्याप्टरसँग समन्वय गर्ने काम भइरहेको छ ।” नेपाली भाषा, साहित्यको उन्नयनका लागि उत्कृष्ट गतिविधि सञ्चालन गर्ने च्याप्टरलाई पाँच हजार अमेरिकी डलरले पुरस्कृत गरिने गरिन्छ ।