• १६ भदौ २०८१, आइतबार

छात्रावासले चौँरी गोठका बालबालिकालाई राहत

blog

रामेछाप समाचारदाता

रामेछाप, माघ ६ गते । रामेछापको उमाकुण्ड गाउँपालिकाले सामुदायिक विद्यालयको पठनपाठन सुधारका लागि विद्यालयमा छात्रावासको व्यवस्था गरेको छ । विद्यालयमा छात्रावासको व्यवस्था भएपछि गाउँपालिकाको माथिल्लो हिमाली क्षेत्रमा रहेका चौँरी गोठका बालबालिकालाई ठुलो राहत भएको छ । अहिले हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिका–१, गुम्देलको महालङ्गुर माविले विद्यालयमा पढ्ने विद्यार्थीको लागि छात्रावास सञ्चालन गरेको छ । त्यस्तै उमाकुण्ड गाउँपालिकाको वडा नं २ मा रहेको सिद्धेश्वर मावि बाम्तीमा पनि विद्यालयमा नै छात्रावासको व्यवस्था गरिएको छ । 

विद्यालयले यही शैक्षिक सत्रबाट टाढा विद्यार्थीका लागि छात्रावास सञ्चालन गरेको हो । घण्टौँ हिँडेर विद्यालय आउनुपर्ने बाध्यता रहेका विद्यार्थीको समस्याको अन्त्य गर्न विद्यालयमा छात्रावास सञ्चालनमा ल्याइएको विद्यालयले जनाएका छन् ।  पहिलो चरणमा सबैभन्दा दुर्गमबाट विद्यार्थी आउने विद्यालयमा छात्रावास निर्माण गरिएको उमाकुण्ड गाउँपालिका शिक्षा शाखाका ङावा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दुई वटा विद्यालयमा छात्रावासको व्यवस्था गरिएको छ । सिद्धेश्वर मावि बाम्तीमा ‘हिमाली आवासीय छात्रावास कार्यव्रmम’ अन्तर्गत प्राप्त बजेटबाट छात्रावासका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ । महालङ्गुर मावि गुम्देलमा भने गाउँपालिकाको सहयोगमा आवश्यक पूर्वाधार निर्माणको काम भएको छ ।” 

उहाँका अनुसार महालङ्गुर मावि गुम्देलको छात्रावासमा अहिले १९ जना छात्राछात्र बस्दै आएका छन् । सो वडाको लाहाछेवरलगायतका माथिल्लो भेगका विद्यार्थी छात्रावासमा बसेर अध्ययन गरिरहेका शेर्पाले बताउनुभयो । “चौँरी गोठमा बस्ने अभिभावकका बालबालिका तथा विद्यालयबाट टाढा रहेका लाहाछेवरलगायत क्षेत्रका बालबालिका छात्रावासमा नै बसेर पढिरहेका छन्,” उहाँले भन्नुभयो । त्यस्तै सिद्धेश्वर माविको छात्रावासमा पनि २० जना विद्यार्थी बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयको छात्रावासमा पनि टाढाका विद्यार्थी बस्दै आएका छन् । गाउँपालिकाले छात्रावासको सरसफाइ तथा क्यान्टिन सञ्चालनका लागि एक एक जना महिला र पुरुष कर्मचारी व्यवस्थापन गरेको छ । न्यूनतम शुल्क लिएर विद्यार्थीलाई क्यान्टिनमा खाना, खाजाको व्यवस्था गरिएको छ । अति विपन्न विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिले निःशुल्क बस्ने व्यवस्था मिलाएको छ ।  

गाउँपालिकाका छ वटामध्ये कम्तीमा चार वटा वडाका एक एक वटा विद्यालयमा छात्रावास सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दुई वटा विद्यालयमा छात्रावाससहितको पठनपाठन भइरहेको छ । अब वडा नं ४ को चण्डेश्वरी मावि प्रीति र वडा नं ६ को कैलेश्वर माविमा पनि छात्रावास सञ्चालन गर्ने योजना गाउँपालिकाको छ ।” यसरी विद्यालयमा छात्रावास सञ्चालन गर्दा टाढाका विद्यार्थीले विद्यालयमा नै बसेर पढ्न पाउने भएकाले बसाइ सहज हुने र पढाइको गुणस्तर सुधारमा पनि सहयोग पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।