• १३ साउन २०८१, आइतबार

यातायात क्षेत्रको सिन्डिकेट हटेपछि यात्रा गर्न सहज

blog

हुम्लाबाट सुर्खेतका लागि यात्रा गर्ने क्रममा पैदल यात्रुहरु गाडी चढ्ने तयारीमा । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, माघ ५ गते । राष्ट्रिय सडक सञ्जाल जोडिएको दक्षिणी हुम्लाबाट सुर्खेत र नेपालगञ्ज जाने यातायातका साधनमाथिको सिन्डिकेट हटेपछि यात्रा गर्न  सहज भएको छ । बाजुरा र कालिकोट जिल्लाका तीन स्थानमा यसअघि लगाइएको सिन्डिकेट स्थानीय प्रशासन र ट्राफिक प्रहरीको पहलमा हटेपछि यात्रा गर्न सहज भएको हो । 

प्रहरी नायव उपरिक्षक रवीन्द्र खनालले दुई जना सिन्डिकेटमा संलग्न यातायात व्यवसायीलाई हुम्ला, बाजुरा र कालिकोटको स्थानीय प्रशासनसँगको समन्वयले कारबाही गरिएपछि बाजुराको धुलाचौरदेखि कालिकोटको जितेसम्मको यातायात क्षेत्रमा लाग्दै आएको सिन्डिकेट हटेको बताउनुभयो । उहाँले यसका लागि ट्राफिक प्रहरी कडा रुपमा प्रस्तुत भएको कारण सिन्डिकेट हटाउन सफल भएको बताउनुभयो । उहाँले सिन्डिकेट हटेपछि यात्रुहरुबाट यातायातका साधनहरुले भाडा भने बढी असुल्ने गरेको र त्यसलाई अव व्यवस्थित गर्ने कार्यमा स्थानीय प्रशासन लागिरहेको बताउनुभयो । 

हुम्ला जिल्लाको अदानचुली गाउँपालिका–२ की प्रतिभा देवकोटले यसअघि बाजुराको धुलाचौर, पिलु र कालिकोटको जीतेमा लाग्दै आएको यातायात सिन्डिकेट हटेको कारण एक दिनमै सर्केगार्डबाट सुर्खेत पुगेको बताउनुभयो । यसअघि हुम्ला जिल्लाबाट पैदल मार्गबाट यात्रा गर्ने यात्रुहरुले हुम्ला जिल्लाको सर्केगार्ड, सलीसल्ला, अदानचुली, ताँजाकोट र कवाडीबाट बोलेरो जीप बाजुराको धुलाचौरसम्म मात्र जान पाउने स्थानीय यातायात व्यवसायीले नियम बनाएका थिए । 

हुम्लाका बोलेरो जीप धुलाचौरबाट फिर्ता हुने अवस्था थियो । धुलाचौरबाट बाजुराकै पिलीसम्म मात्र यात्रु बोकेका गाडी जान पाउने व्यवस्था थियो । धुलाचौरबाट गएका गाडी पिलीबाट फिर्ता हुने गर्थे । त्यसैगरी, पिलीचौरबाट कालिकोटको जितेसम्म जान पाउने नियम थियो । उहाँले यसले गर्दा हुम्लाबाट सुर्खेत पुग्न दुईदेखि तीन दिनसम्म समय लाग्ने बाध्यता थियो तर हाल त्यो हटेको कारण यात्रुहरुलाई सहज भएको बताउनुभयो । ती स्थानका गाडीहरु यात्रुहरु भरिएपछि मात्र सञ्चालन हुने गर्थे । त्यति बेलासम्म यात्रुहरुले पर्खनै पर्ने बाध्यता थियो । उहाँले सर्केगार्डमा बोलेरो जीपका लागि आवश्यक यात्रुहरु सात आठ जना पुगेपछि गाडी सञ्चालन हुने गरेको बताउनुभयो । यात्रु सङ्ख्या नपुग्दासम्म भने गाडी सञ्चालन हुने व्यवस्था भने लागू हुन सकेको छैन । 

सर्केगार्डबाट सुर्खेतसम्मको भाडा भने प्रति यात्रु सात हजार रुपियाँ लाग्ने गरेको छ । उहाँले दूरी हेर्दा भाडा भने बढी भएको तर यात्रुहरु बिना झन्झट आफ्नो गन्तव्यसम्म पुग्न भने सहज भएको बताउनुभयो । हुम्ला जिल्लाबाट नेपालगञ्ज र सुर्खेतका लागि दैनिक तीनदेखि चार वटा बोलेरो जीप छुट्ने गरेका छन् ।