• २ साउन २०८१, बुधबार

दोमुखामा पर्यटकको लर्को

blog

कनकाई नदी किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखा । फाइल तस्बिर

झापा, माघ ५ गते । शिवसताक्षी नगरपालिका-९ स्थित कनकाई नदी किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा वनभोज खाने तथा घुमफिर गर्ने आन्तरिक र बाह्य पर्यटकको दैनिक लर्को लाग्न थालेको छ । 

कोशी प्रदेशकै प्रमुखमध्येको पर्यटकीय गन्तव्यकारुपमा रहेको दोमुखामा जाने सडक कालोपत्र भएसँगै पर्यटकको थप आकर्षण बढेको हो । दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर लावतीका अनुसार सडक, खानेपानीलगायतका सुविधाका कारण विगत वर्षमा भन्दा यस वर्ष पर्यटक आगमन बढी भइरहेको छ ।

उहाँले कात्तिक पहिलो हप्तादेखि सुरु भएको पर्यटकको चहलपहल हाल खचाखच हुने गरेको बताउनुभयो । उहाँका अनुसार वनभोज खानेको टोली दैनिक २० देखि ३० वटासम्म दोमुखामा आउने गरेका छन् । “बिदा र शनिबारका दिन पिकनिक स्पटदेखि खोला किनार सबै भरिन्छन्”, उहाँले भन्नुभयो, “यसबाट आउने शुल्कसमेत राम्रै संकलन हुने गरेको छ ।”

पूर्वपश्चिम राजमार्गको माइधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको दुई किलो नौ सय मिटर सडक कालोपत्र भएको छ । यसका कारण यस स्थानमा आउने पर्यटकलाई सहज भएको उहाँको भनाइ छ । दोमुखा क्षेत्रमा अवलोकन गर्न र वनभोज खानका लागि इलाम, मोरङ, सुनसरी, छिमेकी मुलुक भारतको दार्जीलिङ, मिरिक, सिलगुढीलगायतका स्थानबाट पर्यटक आउने गरेका छन् । 

उहाँले वनभोज खान आउनेबाट पाँच सयदेखि तीन हजारसम्म शुल्क लिने गरेको बताउनुभयो । दोमुखा पर्यटकीय क्षेत्रमा बालउद्यान र बहुजातीय संग्रहालय, स्वीमिङपुल, झोलुङ्गे पुल रहेको जानकारी दिनुभयो । अध्यक्ष लावतीले चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौँ नेपाली चलचित्र तथा म्युजिक भिडियोसमेत छायाँकन हुने गरको बताउनुभयो । उहाँका अनुसार शिवसताक्षी नगरपालिकाका सबैभन्दा धेरै सुविधासम्पन्न होटल पनि यही क्षेत्रमा रहेकाले पर्यटकलाई पनि सहज भएको छ । रासस