• १३ साउन २०८१, आइतबार

पन्चैबाजाबाट आम्दानी गर्दै महिला

blog

घोराही समाचारदाता 

घोराही, माघ ५ गते । दाङको राप्ती गाउँपालिका–३, पाखापानीनिवासी लक्ष्मी रोकालाई पछिल्लो समय पन्चैबाजा बजाउन भ्याइनभ्याइ छ । गाउँघरमा हुने विवाह, पूजालगायत शुभकार्यसहित मेला महोत्सवको याम सुरु भएसँगै रोकाको व्यस्तता बढेको छ । 

मगर समुदायको मौलिक वेशभूषामा सजिएर दिदीबहिनीसँगै विवाह, मेला महोत्सवमा नौमती पन्चैबाजा बजाउन दैनिक जस्तै जाने बनेको रोका बताउनुहुन्छ । उहाँका अनुसार गाउँघरमा हुने विवाह, पूजा, कुलपूजा, व्रतबन्धलगायतका शुभकार्यमा बाजा बजाउने मानिस नभेटिँदा दुई वर्षअघि गाउँकै १२ जना दिदीबहिनी मिलेर नौमती पन्चैबाजा बजाउन सिक्नुभएको थियो । 

नेपाल मगर सङ्घ नौमती पन्चैबाजा समूहकी अध्यक्षसमेत रहेकी रोका नौमती बाजा बजाउन सिकेपछि समूह गठन गरेर व्यावसायिक रूपमा आम्दानी लिन थालेको बताउनुहुन्छ । बाजा बजाउन सिकेपछि मौलिक संस्कृतिको संरक्षणसँगै गाउँघरमा विवाह, पूजालगायतका धार्मिक कार्यमा सहजतासँगै आफू जस्ता दिदीबहिनीका लागि आम्दानीको स्रोतसमेत बनेको उहाँको भनाइ छ ।

 उहाँले भन्नुभयो, “हामीहरूले पन्चैबाजा बजाउन नसिक्दा गाउँमा विवाह, पूजालगायतका कार्यमा बाजा बजाउने मानिस नै नपाइने अवस्था थियो । टाढाबाट बाजा बजाउने मानिस ल्याउँदा खर्च बढी हुन्थ्योे । पछिल्लो समय गाउँघरमा हुने विवाह, पूजालगायतका शुभकार्यमा सहज भएको छ ।” 

गाउँघरमा हुने विवाह, व्रतबन्ध, कुलपूजालगायतका उत्सवका कार्यव्रmममा पन्चैबाजा बजाउने परम्परा रहे पनि बजाउने मानिस नहुँदा समस्या हुने गरेको तर अहिले बाजा बजाउने मानिस खोज्न टाढा जानु नपर्ने उहाँको भनाइ छ ।

गाउँमै प्रशिक्षक बोलाएर नौमती पन्चैबाजा बजाउन सिकेकी समूहकी सचिव शान्ति घर्तीमगरले भन्नुभयो, “बाजा बजाउने निष्कर्षमा पुगे पनि कसरी बजाउन सिक्ने भन्ने समस्या थियो । त्यसका लागि १२ जना महिलाले थोरै थेरै पैसा जम्मा गएर प्रशिक्षक गाउँमै बोलाएर बजाउन सिकेका हौँ ।” खास गरी दलित समुदायका पुरुषले बजाउने बाजा बजाउन लाग्दा गाउँमा सुरुमा नराम्रो नजरले हेर्ने गरिएको उहाँ बताउनुहुन्छ । 

समूहकी कोषाध्यक्ष गोमती पुन घरको कामसँगै जिल्लाका विभिन्न ठाउँमा गएर बाजा बजाउने गरेको बताउनुहुन्छ । यसरी विवाह, पूजा, महोत्सवलगायतका कार्यमा एक दिन बाजा बजाएर करिब  ३० देखि ४० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बढी माग आउन थालेपछि सिजनमा घरको काम गर्न पाइँदैन । 

त्यसैले कमाएर घर खर्च चलाउने गर्छौं । बचेको रकम खातामा जम्मा गर्ने र अप्ठ्यारो पर्दा चलाउने गर्छौं ।” उहाँले गाउँघरसँगै जिल्लाका विभिन्न ठाउँ र बाहिर जिल्लामा रहेका मगर समुदायले समेत आफूहरूलाई बोलाउने गरेको बताउनुभयो । महिनामा तीनदेखि पाँच लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको पुन बताउनुहुन्छ । नौमती बाजाका रूपमा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल र नरसिङ्गा पर्ने गर्छन् ।