• २० असार २०८१, बिहिबार

सवारी जरिवानाबाट चार लाख राजस्व सङ्कलन

blog

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङ ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा ट्राफिक प्रहरीले पछिल्लो छ महिनाको अवधिमा करिब चार लाख रुपियाँ राजस्व रकम असुल गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही तथा जरिवाना गरी उक्त राजस्व रकम असुल गरेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका अनुसार चालू आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्त सम्ममा ६७७ वटा विभिन्न सवारी साधन कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट कुल तीन लाख ९६ हजार रुपियाँ राजस्व रकम असुल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) दीपक न्यौपानेले जानकारी दिनुभयो । 

सवारी साधनको कागजात नबोक्ने, लापरबाही चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई कारबाही अर्थात् जरिवाना गरिएको प्रसनि न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई न्यूनतम ५०० देखि अधिकतम एक हजार ५०० रुपियाँसम्म जरिवाना गर्ने गरिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश जिप गाडीलाई नियम उल्लङ्घन गरेबापत कारबाही गरिएको छ । जिपपछि मोटरसाइकल र अन्य सवारी साधन कारबाहीमा परेका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।