• २० असार २०८१, बिहिबार

बालविवाह न्यूनीकरणमा शिक्षक र विद्यार्थीको सहयोग

blog

कार्यक्रममा जलेश्वर नगरपालिकाका उपप्रमुख रौशन खातुनसहितका सहभागीहरु ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, माघ ४ गते । जलेश्वर नगरपालिकाले बालविवाह न्यूनीकरणको लागि शिक्षक तथा विद्यार्थीहरूको सहयोग लिने भएको छ । बालविवाहमा अभिभावकहरूको मुख्य भूमिका रहेको ठम्याउँदै नगरपालिकाले छात्रछात्रा तथा शिक्षकलाई बालविवाह न्यूनीकरणको प्रशिक्षण दिएर अभिभावकहरूलाई जनचेतना जगाउने कार्यमा खटाउने जनाइएको छ । 

जलेश्वर नगरपालिकामा आयोजना गरिएको बालविवाह न्यूनीकरणको लागि रूपान्तरण कार्यक्रममा सहभागी वक्ताहरूले अभिभावकलाई सम्झाउन तथा जनचेतना जगाउन शिक्षक तथा विद्यार्थीहरूको आवश्यकता अपरिहार्य भएको तर्क गरेपछि जलेश्वर नगरपालिकाका उपप्रमुख रौशन खातुनले ती कार्यमा शिक्षक तथा विद्यार्थीलाई खटाउने बताउनुभयो । उहाँले बालविवाह न्यूनीकरणमा अभिभावकको मुख्य भूमिका भएको तथा अभिभावकसँग नजिक शिक्षक र विद्यार्थी भएकोले उनीहरूलाई प्रशिक्षण दिएर जनचेतना जगाउने कार्यमा लगाइनेछ । प्रशिक्षणपश्चात् शिक्षक तथा विद्यार्थीहरूले पठनपाठनबाट फुर्सद पाएको समयमा बालविवाह न्यूनीकरणको लागि जनचेतना जगाउने कार्य गर्नेछ । 

उपप्रमुख खातुनले स्थानीय सरकारको आगमनसँगै शिक्षाक्षेत्रमा सुधारका साथसाथै बालविवाह तथा बाल हिंसामा कमी आएको ठोकुवा गर्नुभयो । उहाँले २० वर्ष पुगेपछि मात्रै बिहेवारी गर्ने परम्परा बसाल्न सबै पक्षको भूमिका अपरिहार्य रहेको बताउनुहुँदै भन्नुभयो, "समाजको सबै तह-तप्कासँग नजिक बालबालिका तथा शिक्षकहरू रहेकोले उहाँको भूमिका अझ सशक्त रूपमा हुनुपर्छ।"

युनिसेफको सहयोगमा जलेश्वर नगरपालिका तथा लाइफ नेपालले जलेश्वर नगरपालिकको ९ सामुदायिक विद्यालयमा अध्ययनरत चार जना छात्रछात्रा तथा दुई जना शिक्षकहरूलाई यस कार्यमा खटाउने कार्यको लागि चाँडै प्रशिक्षण दिइने लाइफ नेपालका जिल्ला संयोजक रिंकुकुमारी चौधरीले बताउनुभयो । 

समाजमा व्यापक रूपमा बालविवाह तथा बाल हिंसा भइरहेको बताउनुहुँदै उहाँले बालविवाह विरुद्ध अभिभावकहरूलाई जनचेतना जगाउन तथा सो विरुद्ध बालबालिकालाई सशक्त बनाउने उद्देश्यले प्रशिक्षण दिन लागिएको जानकारी दिनुभयो । 

लाइफ नेपालले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकासहित बर्दिबास, मनरासिस्वा नगरपालिका तथा सम्सी र एकडारा गाउँपालिकामा समेत बालविवाह न्यूनीकरणको लागि कार्य गरिरहेको जानकारी दिएको छ । 

बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत बालविवाहको नकारात्मक परिणाम, शिक्षाको महत्त्व, मनोसामाजिक परामर्श, बालविवाहका न्यूनीकरणबारे शिक्षक, विद्यार्थी, समुदायका सदस्यहरू, विवाह गराउने पुजारी तथा धर्मगुरुहरूलाई समेत यस कार्यमा समेटिने लाइफ नेपालले जनाएको छ । 

नेपालमा बालविवाहको क्षेत्रमा मधेश सबभन्दा अगाडि रहेकोले पनि मधेशमा यो कार्यक्रमले निरन्तरता पाएको देखिएको छ ।