• १३ साउन २०८१, आइतबार

स्वमूल्याङ्कनमा सहिदलखन गाउँपालिका जिल्लाको सर्वोकृष्ट

blog

गुणबहादुर रोका 

सुलीकोट, माघ ४ गते । गोरखाका ११ वटा पालिकाहरूमध्ये सहिदलखन गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सर्वोकृष्ट पालिका बनेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा औसत ८७ प्रतिशत अङ्क ल्याएर सहिदलखन गाउँपालिका जिल्लाकै सर्वोकृष्ट बनेको हो । 

स्वमूल्याङ्कन कार्यविधिमा समावेश गरिएका विभिन्न १० सूचक र १०० उपसूचकका आधारमा संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरिन्छ । निर्धारित सूचकहरूमध्ये सहिद लखन गाउँपालिकाले शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन र न्यायिक कार्यसम्पादनमा शतप्रतिशत अङ्क प्राप्त गरेको छ भने सबै भन्दा कम वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ७२.७३ प्रतिशत अङ्क पाएको छ। 

त्यस्तै, स्वमूल्याङ्कनमा बारपाक सुलीकोट गाउँपालिका जिल्ला भरिका दोस्रो हुन सफल भएको छ । ८६ प्रतिशत अङ्क ल्याएर दोस्रो भएको हो । तोकिएका सूचकहरूमध्ये बारपाक सुलीकोटले वातावरण संरक्षण तथा व्यवस्थापन शीर्षकको सूचकमा मात्रै ५५.५६ प्रतिशत अङ्क प्राप्त गरेको छ । 

स्थानीय तहको संस्थागत स्वमूल्याङ्कनमा ८४.५ प्रतिशत ल्याएर भीमसेन थापा गाउँपालिका तेस्रो हुन सफल भएको छ । भीमसेन थापा गाउँपालिकाले सूचकहरूमध्ये सामाजिक समावेशीकरणमा शतप्रतिशत अङ्क ल्याएको छ भने सबै भन्दा कम वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ७५ प्रतिशत अङ्क प्राप्त गरेको छ । 

चौँथो स्थानमा पर्न सफल पालुङटार नगरपालिकाले औसत ७९.२५ प्रतिशत अङ्क प्राप्त गरेको छ भने धार्चे गाउँपालिकाले औसत ७५.७५ प्रतिशत अङ्क ल्याएर पाँचौँ हुन सफल भएको छ । त्यसैगरी आरुघाट गाउँपालिका औसत ७२ प्रतिशत अङ्क प्राप्त गर्दै छैटौँ हुन सफल भएको छ । 

त्यसैगरी क्रमशः अजिरकोट गाउँपालिका औसत ६७.२५, सिरानचोक गाउँपालिका औसत ६६ प्रतिशत, गोरखा नगरपालिका औसत ५० प्रतिशत, चुमनुब्री गाउँपालिका औसत ४८.२५ अङ्क ल्याएर अन्तिम हुन पुगेको छ । गण्डकी गाउँपालिका भने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक भएको छैन । 

नतिजा सार्वजनिक भएकामध्ये धेरै स्थानीय तहहरूले भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा व्यवस्थापन, सहकार्य र समन्वयको सूचकमा अन्य सूचकको तुलनामा कम अङ्क प्राप्त गरेका छन् । 

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० सूचक निर्धारण गरिएको हुन्छ । 

कार्यविधि अनुसार स्वमूल्याङ्कनमा पालिकाहरूको सवाल पक्ष र दुर्लभ पक्षहरूको समीक्षा गरिन्छ । स्थानीय तहहरूले स्वमूल्याङ्कनमा कार्य प्रत्येक आर्थिक वर्षको पौष मसान् भित्र गरी सक्नुपर्ने कानुनी प्रावधान छ । 

स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी माघको पहिलो हप्ता भित्र आ आफ्नो वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।