• १३ साउन २०८१, आइतबार

च्याछरा सडकको स्तरोन्नति कार्य सुरु

blog

च्याछरामा सडकको स्तरोन्नति कार्य गरिँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला माघ १० गते । 
हिल्सा सिमकोट सडकको असजिलो चट्टानी भीरको च्याछरा खण्डको सडकको स्तरोन्नति कार्य तीव्र गतिमा अगाडि बढेको छ । सम्झौता भएको १० महिनापछि सो सडकको स्तरोन्नति कार्यले तीव्रता पाएको हो ।

सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले डोजर काठमाडौँबाट केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्साबाट निर्माण स्थलमा ल्याई पुर्‍याएपछि कामले गति लिएको हो ।

निर्माण कम्पनी ओसिस इनिजनीयरिङ एण्ड बिल्डर्सका स्थानीय प्रतिनिधि प्रेम कार्कीले हिल्सा सिमकोट सडकको च्याछरामा निर्माण कार्य धमाधम भइरहेको बताउनुभयो । उहाँले मेशिनले सडक खन्ने र कामदारबाट ग्याविन लगाउने कार्य भइरहेको जानकारी दिनुभयो ।

सडकको ग्रेड नमिलेको भन्दै विरोध भइरहेका बेला च्याछराको भिरालो सडकको अगाडि ग्याविन वाल लगाउने कार्य तीव्र रूपमा भइरहेको छ । उहाँले ग्याविन भरेर सडकको ग्रेड मिलाइने बताउँदै सामान ढुवानीमा समस्या रहेको बताउनुभयो । राष्ट्रिय सडक सञ्जालसँग अझै माथिल्लो हुम्ला नजोडिएका कारण सडक निर्माणका लागि आवश्यक पर्ने मेशिन, इन्धन, ग्याविन तार सबै केरुङ नाकाबाट ल्याउन पर्ने भएका कारण काम सुरु गर्न ढिला भएको कार्कीको भनाइ छ । उहाँले एक लट सामान केरुङ नाकाबाट ल्याई सकिएको र अब पुनः सामान सोही नाकाबाट ल्याउने तयारीमा कम्पनी रहेको बताउनुभयो ।

उहाँले निर्माण सामग्री समयमै जुटाउन सके कामलाई तीव्रता दिन सकिने र आगामी दसैँसम्म सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले गत वर्ष चैतमा निर्माण कम्पनीसँग सम्झौता गर्नुभएको थियो । उहाँले सडकको स्तरोन्नति कार्य २०८४ सालको चैतमा सम्पन्न गर्ने गरी आयोजनासँग सम्झौता गरिएको भयो । यसका लागि ३० करोड बजेटको व्यवस्था गरिएको छ । सडकको ट्रयाक खुलाउने कार्य भने यसअघि नै भइसकेको थियो ।