• १३ साउन २०८१, आइतबार

एमालेद्वारा गोदावरी नगरपालिका घेराउ, अत्तरियामा तनाव

blog

नगरपालिका घेराउमा नेकपा (एमाले)का नेता कार्यकर्ता । तस्विर : भवानी ऐर ।

भवानी ऐर 

गोदावरी (कैलाली), माघ ४ गते । कैलालीको गोदावरी नगरपालिका नेकपा एमालेले बिहानैदेखि घेराउ गरेपछि अत्तरिया बजारमा तनाव सिर्जना भएको छ । आज बिहीबार नगरप्रमुखले भवन उद्घाटन गर्ने कार्यक्रममा तनाव सिर्जना भएको हो । 

निर्माण सम्पन्न नहुँदै यसअघि २०७८ चैत १४ गते एमालेबाट निर्वाचित तत्कालीन नगरप्रमुख हरिसिंह साउदले उद्घाटन गर्नुभएकाे उक्त प्रशासनिक भवनको कांग्रेसबाट निर्वाचित अहिलेका प्रमुख वीरेन्द्र भट्टले फेरि उद्घाटन कार्यक्रम राखेपछि तनाव सिर्जना भएको हो । प्रशासनिक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएकाे नेकपा एमालेले नगरपालिका घेराउ गरेको छ । यो समाचार तयार पार्दासम्म हातमा कालो रिबनसहित एमाले कार्यकर्ता नारा जुलुसमा छन् भने प्रहरीले शान्त रहन आग्रह गरिरहेका छन् । 

एमालेले कुनै पनि हालतमा प्रशासनिक भवनको उद्घाटन गर्न नदिने अडान लिँदै विरोध जनाउँदै नगरपालिका कार्यालय घेराउ गरेको हो । एमाले नगर कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष सिंहले बल प्रयोग गरी भवन उद्घाटन गरिए त्यसपछि आउन सक्ने गम्भीर परिस्थितिको जिम्मेवारी नगरप्रमुखले लिनुपर्ने बताउनुभयो । 

यता, भवन निर्माण सम्पन्न भएर सहयोगी दाताबाट हस्तान्तरण नहुँदै उद्घाटन गरिएकाले सो उद्घाटन वैध नभएको भन्दै एमाले बाहेकका छ राजनीतिक दलले विरोध जनाएको स्मरण गराउँदै नगरप्रमुख भट्टले भवन निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण भएकाले उद्घाटन गर्नुपरेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले भवन उद्घाटनको विषयलाई लिएर विवाद सिर्जना भएको बताउँदै प्रहरी चनासो भएर खटिएको बताउनुभयो । उहाँका अनुसार नेकपा एमाले निकट नेता, कार्यकर्ताले नगरपालिका घेराउ गरेका छन् भने नगर प्रमुखसहितका जनप्रतिनिधि भवन उद्घाटन कार्यक्रमका लागि नगरपालिका जाने तयारीमा छन् । 

एसियाली विकास बैंक (एडीबी)को १३ करोड ४६ लाख १ हजार ४३ रुपियाँ ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीले निर्माण गरिएको भवन २०८० असोज २६ गते निर्माण सम्पन्न गरिएको जनाएको छ । भवन निर्माण सम्पन्न भएको चार महिनापछि आयोजना कार्यान्वयन एकाइले माघ २ गते गोदावरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।