• १३ साउन २०८१, आइतबार

इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण

blog

सचिन पाख्रेल

इटहरी, माघ ४ गते । इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने दुईपाङ्ग्रे सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । स्थानीय तहले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको यो कार्य नेपालमा नै पहिलो भएको इटहरी उपमहानगरपालिकाको दाबी छ । 

सङ्घीय सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरपालिकाले पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकललाई विद्युतीय सवारीमा रूपान्तरण गरेको हो ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरेको जानकारी दिनुभयो । मर्मत गरेर उपयोगमा आउन नसक्ने तथा २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनको रुपमा रूपान्तरण गर्न सकिने भन्दै सङ्घीय सरकारले गरेको व्यवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो ह्विल्स प्रालिसँग सम्झौता गरेर यो अभियानलाई अगाडी बढाएको प्रमुख पौडेलको भनाइ छ । 

पेट्रोलबाट चल्ने मोटरसाइकललाई इटहरी १७ का दुई जना विद्यार्थीले विद्युतीय सवारीमा रूपान्तरण गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरेका छन् । इन्जिनियरिङ अध्ययन गरिरहेका स्थानीय आदित्य आचार्य र ऋषभ गडतौलाले ६ महिना लगाएर इन्धनबाट चल्ने मोटरसाइललाई विद्युतीयमा रूपान्तरण गरेर त्यसलाई पनि सार्वजनिक गरिएको छ ।

यसैबिच, इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि इटहरीमा खाद्य परीक्षण प्रयोगशाला स्थापना गरेको छ । बजारमा अखाद्य वस्तुको बिक्री वितरण हुने क्रम बढिरहेको अवस्थामा खाद्यवस्तुमा गरिने अखाद्य वस्तुको मिसावट पत्ता लगाउन स्थानीय सरकारले आफ्नै प्रयोगशाला स्थापना गरेको बताइएको छ ।  

प्रमुख पौडेलले खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने प्रयोगशालाको स्थापना गरिएको बताउनुभयो । त्यस्तै, इटहरी उपमहानगरपालिकाले भौतिक पूर्वाधार प्रयोगशाला स्थापना गरेको छ । भौतिक पूर्वाधारको निर्माण, विकास र विस्तारको क्रममा प्रयोग हुने सामग्रीको परीक्षणका लागि प्रयोगशालाको व्यवस्था गरिएको छ ।

त्यसैगरी, इटहरी उपमहानगरपालिकाले निःशुल्क चिया कफीसहितको नागरिक सहायता कक्ष स्थापना गरेको छ । नवस्थापित सहायता कक्षमा सेवाग्राहीलाई राखेर तत्काल उनीहरूका गुनासा र जिज्ञासाका आधारमा काम अगाडि बढाइने इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेलले बताउनुभयो ।