• २० असार २०८१, बिहिबार

हिमपातले किसान खुसी

blog

रामेछाप समाचारदाता 

रामेछाप, माघ ४ गते । रामेछापको उच्च पहाडी क्षेत्रमा यो वर्ष पहिलो पटक हिमपात भएको छ । गत वर्ष मङ्सिर, पुसमा नै पटक पटक हिउँ पर्ने जिल्लाको शैलुङलगायतका उच्च पहाडी क्षेत्रमा हिउँ नपर्दा किसान चिन्तित रहेकोमा हिमपातसँगै किसान खुसी भएका छन् ।  

जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोला खर्क र उमाकुण्ड गाउँपालिकाको लाछेवर, छागेतिरलगायत उच्च क्षेत्रमा मङ्गलबार र बुधबार हिमपात भएको छ । 

दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोला खर्क क्षेत्रमा पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षहरूमा यहाँ मङ्सिर, पुसमा नै पटक पटक हिमपात हुन्थ्यो ।  यो वर्ष माघ लागेपछि मात्र हिउँ परेको हो । यो वर्षको हिउँदमा हिउँ पर्दैन कि भनेर चिन्तामा रहेका यहाँका किसानलाई केही भए पनि राहत भएको छ ।” हिउँ परेसँगै आलुलगायतका कृषि उपजको राम्रो उत्पादन हुने भन्दै किसान खुसी भएको उहाँले बताउनुभयो । मङ्गलबारदेखि सुरु भएको हिमपात बुधबार बिहान सामान्य रूपमा परेको उहाँले बताउनुभयो । 

उमाकुण्ड गाउँपालिकाको छागेतिर, लाहाछेवरलगायतका उच्च भेगमा पनि यस वर्षको पहिलो हिउँ परेको स्थानीय लाक्पा शेर्पाले बताउनुभयो । रामेछापको उच्च पहाडी भेगमा आलु, गहुँ, उवा तथा तरकारी राम्रो उत्पादन हुने गर्दछ ।