शैलेन्द्र रोकाया
बझाङ, माघ ४ गते । खप्तडछान्ना गाउँपालिका–३, सिल्कावाडाकी किडीदेवी रोकाया घरको आँगनमा भएको गोठेमल (पोर्सो) छोरा, बुहारीसँगै आफू पनि बोक्नुहुन्छ । गोठेमल बढी भएको समयमा गाउँ तथा छिमेकी पुरुष र विवाहित महिला आलोपालो गरेर गोठेमल (पोर्सो) खेतबारीसम्म पु¥याउने चलन छ ।
उहाँको घरमा छोराबुहारीसँगै चार वटा जवान छोरी छन् तर किडीदेवी छोरीलाई गोठेमल बोकाउँदा पाप लाग्ने कुरामा विश्वास गर्नुहुन्छ । किनभने छोरीलाई (गोठेमल) बोकाउँदा पाप लाग्छ र मर्दा स्वर्गमा जान मिल्दैन भन्ने डर उहाँमा छ ।
सिल्कावडाको रोकाया परिवारलाई मात्र होइन यस गाउँपालिकामा बस्ने सबैलाई छोरीचेलीलाई पोर्सो बोकाउँदा पाप लाग्ने भ्रम रहेको छ । जसका कारण अधिकांश गाउँमा विवाहित महिला (बुहारी) र छोराले मात्रै गोठेमल बोक्ने परम्परा छ ।
धामी थरका केही परिवारको बुङ्गल नगरपालिकाको बमौरमा बसोवास रहेको छ । उहाँहरूको परम्परा भने निकै फरक छ । बुङ्गल नगरपालिकाको बमौरकी हर्का धामी र उहाँकी १७ वर्षीय छोरी विमला पोर्सो ( गोठेमल) बोक्नुहुन्छ ।
आमा हर्कालाई भने छोरीलाई गोठेमल बोकाउँदा पाप होइन पुण्य हुन्छ भन्ने विश्वास छ । “गोठेमल बोकाउँदैमा कसैलाई पाप, कसैलाई पुण्य हुने भन्ने हुँदैन,” उहाँले भन्नुभयो, “छोरीलाई काम गराउँदा पाप लाग्दैन ।”
बझाङ, बाजुरा र अछाम जिल्लामा अझै पनि छोरीलाई गोठेमल बोकाउनु हुँदैन भन्ने कुसंस्कार रहेको छ । परम्परागत त्यो चलन त्याग्न यहाँका स्थानीय तयार छैनन् ।
काम गर्न नजानेका कुरा सिकाउँदा र आमा बुवालाई घरको काममा सहयोग गर्दा पाप नभई पुण्य हुने भन्ने विश्वास धामी समुदायमा छ । बझाङको तल्लो क्षेत्रका अधिकांश गाउँका स्थानीय बासिन्दाले छोरीलाई गोठेमल बोकाउँदा पुण्य हुने बताउँछन् ।
आफ्नो गाउँमा परापूर्वकालदेखि नै छोरीलाई मल बोकाउने गरेको तर अहिलेसम्म कसैलाई पाप नलागेको स्थानीय हिमकला धामीले बताउनुभयो । छोरीलाई गोठेमल नबोकाउने र बोकायो भने पाप लाग्छ भन्ने संस्कार रहेको छ ।
बझाङ जिल्लाको माथिल्लो क्षेत्रमा छोरीलाई गोठेमल बोकाउँदा पाप लाग्छ र तल्लो क्षेत्रमा उल्टै पुण्य हुन्छ भन्ने चलन कायम रहेको बताइन्छ । थलारा गाउँपालिका, जयपृथ्वी नगरपालिका, तल्कोट, सुर्मा, मष्टा, खप्तडछान्ना, साइपाल, गाउँपालिकामा छोरीहरूलाई गोठेमल बोकाउँदा पाप लाग्छ भन्ने विश्वास गरिन्छ ।
यहाँका स्थानीयले विवाहित तथा अविवाहित छोरीलाई गोठेमल नबोकाउने, खाना खाएको भाँडाकुँडाहरू नधुवाउने चलन अझै ताजा छ ।
अन्य काम गराए पनि गोठेमल भने बोकाउँदैनन् तर बझाङकै वित्थडचिर, छबिसपाथिभेरा, केदारस्युँ, गाउँपालिका र बुङ्गल नगरपालिकाका केही समुदायमा छोरीलाई गोठेमल (पोर्सो) बोकाउँदा पाप नभई पुण्य हुन्छ भन्ने विश्वास गरिन्छ ।
छबिसपाथिभेरा गाउँपालिकाको सैनपसेला, बुङ्गल नगरपालिकाको बमौरलगायत दर्जनभन्दा बढी गाउँ विवाहित तथा अविवाहित छोरीचेलीलाई मल बोकाउने काम परम्परादेखि नै चल्दै आएको स्थानीयले बताएका छन् ।
गोठेमल छोरीलाई बोकाउँदा पाप लाग्छ, मर्दाखेरी स्वर्ग देख्न पाइन्न भन्ने अनौठो भ्रम र संस्कृति जीवित रहेको छ तर त्यही छोरी अर्काको घरबाट बुहारी भएर गएमा भने सबै काम गर्नुपर्ने हुन्छ ।
स्थानीय सैनपसेला, बमौरलगायतका गाउँमा भने छोरी तथा ससाना बालिकालाई गोठेमल बोक्ने गरेको स्थानीय पट्की धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो संस्कृति पहिलेदेखि नै
चल्दै आएको छ । काम गर्दैमा कोही सानो ठुलो हुँदैनन् । पाप लाग्ने पुण्य कमाइ हुने भन्ने कुरा अन्धविश्वास मात्रै हो ।”