• १३ साउन २०८१, आइतबार

भवन बनाउन सम्झौता भएको ६ महिनापछि शिलान्यास

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, माघ ३ गते । चन्द्रागिरि नगरपालिकामा छुट्टै नगर अस्पताल बनाउन सम्झौता भएको छ महिनापछि मात्रै भवन निर्माणको शिलान्यास भएको छ । 

अस्पताल भवनको बुधबार शिलान्यास गरिएको हो । भवनको शिलान्यास गर्दै उपप्रमुख वसन्ती श्रेष्ठले नयाँ बन्ने भवनले चन्द्रागिरि नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रमुख कार्यकारी अधिकृत हेमराज अर्यालले भवन निर्माण समयै सम्पन्न गर्न आग्रह गर्नुभयो । मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले ‘चन्द्रागिरि नगर अस्पताल’ बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो । 

गत असार २० मा नगरपालिका र निर्माण कम्पनीबिच दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो । तर बुधबार मात्रै भवन निर्माणको शिलान्यास भएको हो ।नगरपालिकाले वडा. नं ४ थानकोट गोदामचौरमा हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाताभित्रै थप १५ शय्याको नगर अस्पताल बनाउन लागेको हो । कर बाहेक १७ करोड ४९ लाख ३४ हजार एकसय ९९ रुपियाँमा तीन तले भवन बन्ने जनाइएको छ । 

नगरपालिकाले जनतालाई सुलभ तरिकाले सेवा सुविधा दिने दाबी गर्दै आएको छ । तर अस्पतालजस्तो संवेदनशील संस्था बनाउन समेत सम्झौता भएको ६ महिनापछि मात्रै शिलान्यास गर्नुले नगरपालिकाको छरितो तरिकाले सेवा दिन नसकेको स्पष्ट भएको छ ।