• ३१ वैशाख २०८१, सोमबार

गौशाला-२६ को गोपनीयता भङ्ग गरेको आरोपमा एक पक्राउ

blog

काठमाडौँ, माघ ३ गते । गौशाला-२६ को व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ । गत पुस २६ गते गौशाला-२६ ले दिएको जाहेरीका आधारमा गोपनीयता भङ्ग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले आज पक्राउ गरेको हो ।

ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले भन्नुभयो, “राईलाई आजै सङ्खुवासभा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको र आजै काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।” सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बिर सार्वजनिक गर्नेविरुद्ध कारबाहीको माग गर्दै गौशाला-२६ ले ब्युरोमा उजुरी दिइएकी थिइन् । 

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट गौशाला-२६ पीडित भएकी युवती हुन् । काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष जेल तथा जरिवाना र क्षतिपूर्तिस्वरुप पाँच लाख तिर्नुपर्ने फैसला गरेको थियो । रासस