• ६ जेठ २०८१, आइतबार

स्थानीय उत्पादनलाई प्राथमिकता दिन माग

blog

वालिङ उद्योग वाणिज्य सङ्घको कार्यालय । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, माघ ३ गते । स्याङ्जाको वालिङमा हुन लागेको आठौँ वालिङमा महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिन स्थानीयले माग गरेअनुसार महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन गरिने उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

माघ १८ देखि २८ सम्म वालिङ खेल मैदानमा हुने महोत्सवका लागि स्थानीय उत्पादन र बजारीकरणलाई मुख्य प्राथमिकता दिनेगरी काम सुरु भएको सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

वालिङसहित जिल्लाका विभिन्न स्थानमा रहेका स्थानीय उत्पादनको खोजी र उनीहरूलाई महोत्सवमा आउन प्रेरित गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सवमा कृषि र हस्तकलाका सामग्रीका लागि निःशुल्क स्टल उपलब्ध गराइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “आधुनिक कृषिऔजार प्रदर्शनीका लागि पनि निःशुल्क स्टल उपलब्ध गराउँदैछौं ।” 

स्थानीय उत्पादन भएका अन्य औद्योगिक सामग्रीका लागि ३० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । गाउँ–गाउँमा भएका उत्पादनको विवरण सङ्कलन गर्ने काम भइसकेको भन्दै कृषि प्रदर्शनीका संयोजक शिवलाल डुम्रेले स्थानीय कृषि सहकारी तथा हस्तकला उत्पादकहरू सम्पर्कमा आइरहेको जानकारी दिनुभयो । 

उनीहरूलाई निःशुल्क स्टल दिने भन्दै संयोजक डुम्रेले आवश्यक अन्य सहयोग गर्न सङ्घ तयार रहेको बताउनुभयो । पछिल्लो समय मेला र महोत्सव आयातित उत्पादन बिक्री वितरणमा प्रेरित भइरहेको भन्दै जिल्लाका नागरिकले गुनासो गर्दैआएका थिए । नागरिकको चाहनाअनुसार नै आफूहरू स्थानीय उत्पादनलाई प्राथमिकता दिनेगरी अगाडि बढेको स्थानीय उत्पादन प्रदर्शनीका संयोजक पीताम्बर भुसालले जानकारी दिनुभयो । 

जिल्ला कृषि ज्ञान केन्द्र र जिल्लाका विभिन्न पालिका बिचको समन्वयमा स्थानीय उत्पादन र कृषिउपजको प्रदर्शनीको व्यवस्था मिलाएको छ । उत्कृष्ट कृषिउपज प्रदर्शन गर्ने किसानलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।