• १३ साउन २०८१, आइतबार

धनकुटा कारागारका कैदीबन्दीहरुलाई नयाँ भवनमा सारियो

blog

धनकुटा कारागारका पुरुष कैदी तथा थुनुवाहरुलाई स्थान्तरण गरिंदै ।

कबिराज घिमिरे 

हिले, माघ ३ गते । धनकुटा जिल्ला कारागारका कैदीबन्दीहरुलाई नयाँ भवनमा सारिएको छ । कोशी प्रदेश र सङ्घीय सरकारको एक करोड ८५ लाखमा वि.सं २०७२ बाट क्रमागत रूपमा चालु आर्थिक वर्ष २०८०-०८१ मा निर्माण पुरा भएसँगै ३५ वर्षपछि नयाँ कारागार सारिएको हो ।

तीन रोपनी क्षेत्रफलमा निर्मित उक्त कारागारमा बुधबार धनकुटा कारागारका पुरुष कैदी तथा थुनुवाहरूलाई नवनिर्मित भवनमा स्थानान्तरण गरिएको छ । यसअघि २५ जना क्षमताको पुरानो भवनमा वि.सं २०४५ साल यता सय भन्दा बढी कैदैबन्दीहरु जोखिमपूण रूपमा राखिएको थियो । महिला कैदीलाई भने यस अघि नयाँ भवनमा स्थानान्तरण गरिएको थियो ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको रोहबर तथा सुरक्षा निकायको निगरानीमा ५७ जना कैदी र ३७ जना थुनुवाहरूलाई स्थानान्तरण गरिएको थियो । कारागार सुधारगृह पनि भएका पर्याप्त स्थान भएको यस कारागारले कैदीबन्दीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक फाइदा पुग्ने पौडेलले जानकारी दिनुभयो ।

नयाँ भवनमा कारागार स्थानान्तरणले २५ जना क्षमता भएको पुरानो भवनमा खचाखच बस्दै आएका कदीकन्दीहरुलाई ठुलो राहत भएका कारागारका निमित्त प्रमुख हेम भण्डारीले जानकारी दिनुभयो। हाल जिल्ला कारागारमा ९४ पुरुष सहित महिला तर्फ चार कैदी र दुई थुनुवा सहित एक सय जना कैदीबन्दी रहेको जिल्ला कारागारले जानकारी दिएको छ ।