• १३ साउन २०८१, आइतबार

लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा १५ लाखको कारोबार

blog

महिला उद्यमीद्वारा प्रदर्शनीमा राखिएका स्टल अवलोकन गर्दै । तस्बिर : सिराज खान ।

सिराज खान

नेपालगन्ज, माघ ३ गते । लुम्बिनी प्रदेशका महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि नेपालगन्जमा सञ्चालन गरिएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा १५ लाख रुपियाँको कारोबार भएको छ । सो  प्रदर्शनीमा महिला उद्यमीले स्थानीय स्तरमा उत्पादन गरेका कृषिजन्य वस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, पत्थरबाट बनेका गरगहना, कम्पोष्ट मल, होमस्टे प्रवर्द्ध लगायतका स्टल राखिएको थियो । 

महिला उद्यमी सङ्घ बाँकेका अध्यक्ष सावित्रा बस्नेतका अनुसार प्रर्दशनीमा ६५ स्टल बुक भए पनि ६१ वटा राखिएको थियो भने पाँच दिनसम्म सञ्चालन भएको  प्रदर्शनीमा १५ लाख बढीको कारोबार भएको छ । उहाँले दैनिक रुपमा सरदर तीन लाख रुपियाँका हिसाबले कारोबार भएको जानकारी गराउनुभयो । अध्यक्ष बस्नेतले भन्नुभयो, " प्रदर्शनीमा राखिएका महिलाले उत्पादन गरेका वस्तुहरुलाई निकैले मन पराएको पाइयो । यसबाट बजारीकरणमा निकै सहजता हुने आशा पलाएको छ ।"

महिला उद्यमी सङ्घका अनुसार  प्रदर्शनीमा रोल्पाली महिला उद्यमीले ल्याएका सामानको माग बढेको पाइएको छ । रोल्पाली सिमी, भाङ्गोलगायत खाद्यान्न सामग्री अत्यधिक बिक्री भएको छ । यस्तै, महिला उद्यमी ऋचा लुइँटेलले सञ्चालन गरेको गरगहनाको व्यवसायले पनि ग्राहकको मन जितेको छ । सोही प्रकारले गाँजाबाट उत्पादन गरिएका टोपी, अल्लोको टोपी, कोटलगायत विभिन्न कपडाले पनि राम्रै बजार पाएको जनाइएको छ ।  प्रदर्शनी स्थलमा महिला उद्यमीले पकाएका सेलरोटी, थारु महिलाले पकाएको ढिंक्री पनि अत्यधिक बिक्री भएको थियो ।

उद्यमी महिलालाई प्रोत्साहन गर्ने उदेश्यले महिला उद्यमी सङ्घले स्टल निःशुल्क रुपमा उपलब्ध गराएको थियो भने बाहिरबाट आउने महिला उद्यमीलाई यातायात भाडा तथा नेपालगन्जमा बस्ने र खाने सुविधा उपलब्ध गराएको थियो ।

महिला उद्यमीको उत्पादनलाई बजारीकरण गर्न यस प्रकारका प्रदर्शनीहरु वर्षमा दुई पटक विभिन्न जिल्लामा सञ्चालन गर्नुपर्ने माग उद्यमी महिलाहरुको छ ।