• १३ साउन २०८१, आइतबार

धनकुटामा सवारीसाधनका लागि नयाँ नियम लागू

blog

नयाँ नियम लागु गरेपछि व्यवस्थित देखिएको धनकुटा बजार क्षेत्रको सडक ।

कबिराज घिमिरे 

हिले, माघ ४ गते । धनकुटा नगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि धनकुटा बजार क्षेत्रमा नयाँ नियम लागू गरेको छ । बजारमा बढ्दो सवारी चाप व्यवस्थापनका पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने-ओराल्ने र सामान लोड-अनलोडसम्बन्धी नयाँ नियम लागू गरेको हो ।

मदनचोकदेखि भीमनारायण चोकसम्म दोहोरो पार्किङ निषेध गरिएको छ । दुई पाङ्ग्रे सवारी साधनलाई बारको आधारमा एकोहोरो पार्किङको व्यवस्था गरिएको छ । आइतबार, मङ्गलबार र बिहीबार सडकको पूर्वतर्फ र सोमबार, बुधबार र शुक्रबार पश्चिमतर्फ पार्किङ गर्ने नियम बनाइएको छ ।

अटोसहितका तीनपाङ्ग्रे सवारी साधनले बजारका जुनसुकै क्षेत्रमा रहेर यात्रु कुर्न गर्न नपाउने भएका छन् । उनीहरूको पार्किङ क्षेत्र त्रिवेणी चोक, परिचयमोड र बसपार्कलाई तोकिएको छ । साना चारपाङ्ग्रे सवारी साधनले बजारमा यात्रु चढाउन र ओराल्न मात्र पाउनेछन् । सामान लोड-अनलोडको पनि समय  निर्धारण गरिएको छ । मालबाहक साधनले बिहान ९ देखि १०ः३० र बेलुका ३ः३० देखि ५ः३० बजे बाहेकको समयमा मात्र सामान लोड-अनलोड गर्न पाउनेछन् ।

धनकुटा बजारमा यसअघि ट्राफिक व्यवस्थापनको बेग्लै नियम थिएन । बजार क्षेत्रमा साँघुरो सडक र बढ्दै गएको सवारी चापका कारण सवारी आवतजावतमा समस्या देखिन थालेपछि व्यवस्थापनका लागि नयाँ नियम लागु गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनुभयो ।

नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सवारी व्यवस्थापनको प्रयास थालेको हो । यसअघि प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहितको टोलीले ट्राफिक व्यवस्थापनका लागि बजारको स्थलगत अनुगमन गरेको थियो ।