• १३ साउन २०८१, आइतबार

स्थानीय उत्पादन प्रवर्द्धन गर्न मनहरी महोत्सव

blog

मकवानपुरको मनहरी बजारमा हुने मनहरी महोत्सवको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, माघ ३ गते । आगामी माघ १६ गतेदेखि मकवानपुरको मनहरी बजारमा मनहरी महोत्सव हुने भएको छ । मनहरी पुल नजिकैको खोला किनारमा पाँचौं मनहरी महोत्सवको आयोजना गर्न लागिएको आयोजक मकवानपुर उद्योग वाणिज्य सङ्घ पश्चिम क्षेत्र समितिले जनाएको हो ।

माघ २८ गतेसम्म चल्ने महोत्सवमा मकवानपुरको राक्सिराङ, कैलाश र मनहरीमा उत्पादित स्थानीय उत्पादनको बिक्री तथा प्रवर्धनलाई प्राथमिकता दिइने मकवानपुर उद्योग वाणिज्य सङ्घ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धरले जानकारी दिनुभयो । यहाँ उत्पादन हुने मास, गहत, भटमाससहितका कृषि र पशुजन्य उत्पादनको प्रवर्धन गर्न मेला केन्द्रित हुने उल्लेख छ । 

महोत्सवमा एक सय ५० वटा स्टल रहनेछन् । यीमध्ये स्थानीय कृषि, पर्यटन, पशुपन्क्षी लगायतको प्रवर्धनका लागि २० वटा स्टल मनहरी, कैलाश र राक्सिराङ गाउँपालिकाको सिफारिसमा निःशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा हात्ती सफारीमार्फत वन्यजन्तुको अवलोकनको व्यवस्था पनि गरिने सङ्घका महासचिव पदमबहादुर तितुङको भनाइ छ ।

महोत्सवको व्यवस्थापनका लागि सभापति मानन्धरको संयोजकत्वमा मूल समिति गठन भएको छ भने पश्चिम क्षेत्र समितिमा रहेका २३ जना कार्य समिति सदस्य र पदाधिकारी सबैलाई फरक फरक विषय र क्षेत्रका संयोजक तोकेर २३ वटा समिति निर्माण गरिएको छ ।