• १३ साउन २०८१, आइतबार

किसानले पाएनन् दुध विक्रीको डेढ करोड बढी भुक्तानी

blog

रेखीराम राना

तानसेन, माघ ३ गते । पाल्पाका किसानले छ महिनादेखि दुधको भुक्तानी पाउन सकेका छैनन् । दुध तथा दुग्धजन्य पदार्थको खपत नहुँदा जिल्लाका पाँच सय बढी किसानले भुक्तानी पाउन नसकेका हुन् । 

लामो समयदेखि दुधको भुक्तानी नपाउँदा पाल्पाका किसान पशुपालनबाट पलायन हुने अवस्थामा पुगेका छन् । दुधको समयमै भुक्तानी नपाउँदा तिनाउ, माथागढी, तानसेन र रिब्दीकोटका पाँच सयभन्दा बढी किसान मर्कामा परेका छन् । उनीहरूले सहकारी तथा दुग्ध डेरी उद्योगले भुक्तानी नदिएको गुनासो

गरेका छन् । 

छ महिनासम्म भुक्तानी नपाउँदा किसान आफ्नो पेसाबाट पलायन हुने अवस्था बनेको माथागढी–२, रुप्सेका किसान कृष्ण भट्टराईले बताउनुभयो । नियमित रूपमा दुध सहकारीलाई पठाए पनि छ महिनादेखि भुक्तानी नपाएको भट्टराईले बताउनुभयो । पाल्पामा उत्पादन भएको दुई हजार लिटर दुध दैनिक पोखराको सुजल डेरी उद्योगमा जाने गरेको छ । त्यहाँबाट गत भदौ महिनादेखि भुक्तानी नपाएको पाल्पास्थित डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले जनाएको छ । पाल्पाबाट पोखरा पठाइएको दुधको एक करोड बढी भुक्तानी आउन बाँकी रहेको सहकारी संस्थाका व्यवस्थापक गोपाल जिसीले बताउनुभयो । यस्तै स्थानीय डेरी पसलमा समेत चिज, बटर, छुर्पीलगायतका दुग्धजन्य पदार्थ बिक्री नहुँदा ५० लाख बढी भुक्तानी पाउन नसकेको उहाँले बताउनुभयो । 

डेरीबाट भुक्तानी नआउँदा किसानलाई भुक्तानी रोक्ने निर्णय भएको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले जनाएको छ । अत्यावश्यक चोकर, औषधी, दानाका लागि आवश्यक रकम भुक्तानी दिने तर अन्य रकम भुक्तानी दिन रोकेको सहकारीले जनाएको छ ।

स्थानीय रूपमा उत्पादन भएका दुध तथा दुग्धजन्य पदार्थभन्दा लुकीछिपी भारतबाट आएका दुध, घिउ, पाउडर दुध, छुर्पी बिक्री हुनाले किसानको करोडौँको भुक्तानीमा समस्या भएको सहकारीको भनाइ छ ।