• १६ भदौ २०८१, आइतबार

दुग्ध पदार्थ मौज्दात राख्न कोल्ड स्टोर अभाव

blog

काठमाडौँ, माघ ३ गते । डेरी उद्योगीले दुग्धजन्य पदार्थ अत्यधिक मौज्दात रहन गएकाले त्यसलाई भण्डारण गर्न शीतभण्डारको अभाव रहेको बताएका छन् । आफ्नो रजत जयन्तीको उपलक्ष्यमा नेपाल डेरी एसोसिएसनले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन् । डेरी उद्योगी एवं एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले पाँच अर्ब रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको तर त्यसलाई राख्ने ठाउँ नभएर बिग्रिने अवस्थामा पुगेको बताउनुभयो । 

अहिले दुग्ध पदार्थ कम खपत हुन्छ त्यसमा पनि बाहिरबाट आयात भएका कारण दुध तथा दुग्ध पदार्थ व्यवस्थापन गर्न कठिन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सरदर पाँच अर्ब बराबरको धुलो दुध र बटर स्टक रहेको छ, यो बढ्दै गइरहेको छ त्यसलाई तत्काल समाधान गरिएन भने अवस्था भयावह हुन्छ ।”

अहिले डेरी उद्योगले प्रतिकेजी १० रुपियाँ कोल्डस्टोरमा भाडा तिरेर बटर राख्न परेको र यसले गर्दा एकातिर बिव्रmी नहुने अर्कोतिर भाडा तिर्दा  दोहोरो मारमा परिरहेको बताउँदै उहाँले धेरै सामान मौज्दात भएर चल्ती पुँजीको अभावले किसानलाई भुक्तानी समयमा दिन नसकिएको बताउनुभयो । समयमा भुक्तानी नपाएका कारण किसान मारमा परेको बताउँदै उहाँले यसमा सरकारले बैङ्कबाट कर्जा वा अन्य स्रोतबाट सहजीकरण गर्न सके समयमै भुक्तानी गर्न सहज हुने बताउनुभयो ।  

एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले नेपालमा मौज्दात रहेको दुग्ध पदार्थ खपत गर्नका लागि बाहिरबाट हुने आयातलाई रोक्ने, छुर्पी र चिज निर्यातमा विशेष सहयोग गरे मात्र केही राहत हुने बताउनुभयो । त्यसका साथै स्कुलका विद्यार्थी, आर्मी, प्रहरी, खेलाडीलाई दुधको महìव बुझाई सेवन गर्न प्रेरित गर्न सके पनि दुधको खपत बढ्ने उहाँले बताउनुभयो । 

दुध व्यवसायका कारण सहरबाट दैनिक पाँच करोड रुपियाँ गाउँसम्म जाने गरेको छ । ८० प्रतिशत दुध निर्वाहमुखी पशुपालनबाट आउँछ भने २० प्रतिशत मात्र व्यावसायिक फार्मबाट आउँछ । व्यावसायिक फर्मबाट कम दुध आएका कारण गुणस्तर व्यवस्थापन गर्न गाह्रो भइरहेको एसोसिएसनले जनाएको छ ।

दुग्ध व्यवसायी साना, ठुला, मझौला र घरेलु डेरीहरूको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन २०५५ सालमा स्थापना भएको हो । यस संस्थामा देशभरिका २७५ सदस्य छन् । हाल एसोसिएसन साथ प्रदेश र १५ जिल्लामा आफ्नो सङ्गठन विस्तार गरेको छ ।