• २४ असार २०८१, सोमबार

चैतमा निफको सातौँ संस्करण, ४० देशका ८८ फिल्म देखाइने

blog

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करणबारे जानकारी दिन आयोगमा गरेको पत्रकारसम्मेलनमा उपस्थितहरु । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ २ गते । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौँ संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको सातौँ संस्करण हुन लागेको हो ।

संस्करणमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने बताइएको छ । ६० देशबाट प्राप्त पाँच सय बढी चलचित्रबाट निफले सातौँ संस्करणमा ४० देशका ८८ वटा फिल्म छानेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष के.पी पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार छनौटमा परेका थुप्रै चलचित्रहरू कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेको बताउनु भयो । फेस्टिभललाई राष्ट्रिय अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी, दुवै भागमा फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने बताउनु भयो । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ ।

यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन् । मोफसलमा पहिलो संस्करण सम्पन्न गरेको निफले यो सालबाट एकै समयमा अन्य प्रदेशहरूमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरिरहेको अध्यक्ष पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीलाई हरेक वर्ष सहभागी हुने देशको सङ्ख्या पनि बढिरहेको छ । सहभागी हुने चलचित्रको सङ्ख्या पनि बढेको छ । हामीलाई पाँच दिनमा फेस्टिभल सक्न हम्मेहम्मे परिसक्यो । आगामी दिनमा पाँच दिनमा फेस्टिभल गर्न नसक्ने अवस्थामा छौँ । हामीले नछानी नहुने, यसो हेर्दा रेटिङपनि राम्रो छ । नछानी नहुने गर्दागर्दै पाँच दिनले नधान्ने भयो । क्यान्स लोकार्नोमा सहभागी भई अवार्ड जितेका फुलहरि छन् । ११५ बाट निर्णय गर्न धेरै नै गाह्रो भयो । ८८ मा झार्न धेरै नै गाह्रो भयो । ४० देशका ८८ फिल्म टुङ्ग्याएका छौँ । अडेन्स च्वाइस अवार्ड थप्नेछौँ ।’’ 

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने बताइएको छ । महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट लघु चलचित्रलाई पाँच सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ ।

यसैगरी, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । सर्ट फिल्म मध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।