• १३ साउन २०८१, आइतबार

आफ्नै प्रयासमा संरचना बनाएर क्रिकेट खेल्दै खेलाडी

blog

बेनी नगरपालिका–५ चुत्रेनीमा क्रिकेट खेल्दै खेलाडीहरु । तस्बिर : गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ १ गते । म्याग्दी जिल्लामा क्रिकेट खेल्नका लागि पर्याप्त पूर्वाधार छैन । मैदानको अभावमा स्थानीय क्रिकेट प्रेमीहरू अहिले आफ्नै प्रयासमा मैदान जोहो गरी क्रिकेट खेल्ने इच्छा पूरा गरिरहेका छन् । 

सदरमुकाम बेनी र आसपासका क्रिकेटसँग रुचि राख्ने युवा बेनी नगरपालिका–५ चुत्रेनीमा रहेको मैदानमा क्रिकेट खेल्न पुग्ने गरेका हुन् । खेलाडीकै अगुवाइमा बेनी बजारको खुला मञ्चमा क्रिकेट अभ्यासका लागि नेट समेत तयार गरिएको छ ।

सदरमुकाममा रहेको एक मात्रै मैदानमा भलिबल, फुटबल तथा अन्य सबै खेलका खेलाडीले अभ्यास गर्ने हुँदा क्रिकेटका लागि स्थान अभाव भएकोले चुत्रेनी पुग्ने गरेको क्रिकेट सङ्घ म्याग्दीका सचिव छवि आचार्यले बताउनुभयो । मेलापर्व तथा राजनीतिक तथा अन्य कार्यक्रमका लागि एउटा मात्रै खुला चौर भएकोले खेलाडीको सहज पहुँच नहुँदा क्रिकेट खेलाडी सदरमुकाम बाहिर मैदान खोजेर खेल्न बाध्य भएको उहाँको भनाई छ । 

बेनीमा अभ्यास गर्न र खेल खेल्न खेलाडीहरू कि बेनी नगरपालिका–१ रत्नेचौर वा बेनी नगरपालिका–५ चुत्रेनीका पुग्ने गरेको पनि सचिव आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘अभ्यास गर्न बेनीमा हामीले नेट निर्माण गरेका छौँ, हरेक दिन बिहान बेलुकामा बेनीमा अभ्यास गर्ने गरेको र बिदाको समयमा गेम खेल्ने गरेका छौँ ।’’

क्रिकेट सङ्घ म्याग्दीका अध्यक्ष प्रवीण पौडेलका अनुसार हाल बेनी बजार वरपर मात्रै नियमित अभ्यास गर्ने खेलाडीहरू २०–२५ जना रहेका छन् । बलिङ तथा ब्याटिङ दुवै क्षेत्रमा राम्रो सम्भावना भएका खेलाडी बेनीमा छन् । तर नेटमा अभ्यास गर्ने गरेको भएपनि खेल एक्सपोजरका लागि अलिक बढी समय लाग्ने र नजिका खेल मैदान नहुँदा समस्या भएको उहाँले सुनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हामी बेनीमा निर्माण गरिएको नेटमा अभ्यास त धेरै नै गर्ने गरेका छौँ, तर खेल्नका लागि अहिले हामीलाई मैदान अभाव छ । कि चार किलोमिटर पश्चिम चुत्रेनी पुग्नुपर्छ, कि त आठ किलोमिटर पूर्व रत्नेचौर पुग्नुपर्ने बाध्यता छ । तर हामीले मैदानका लागि प्रयास गरिरहेका छौँ ।’’

राज्यको तर्फबाट हुन्छ हुँदैन भनेर पर्खनु भन्दा आफै खेलाडीहरूले श्रमदान गरेर बेनी बजारको खुला मञ्चमा क्रिकेट अभ्यासका लागि नेट तयार गरेको खेलाडी दीपक विकको भनाई छ । क्रिकेट सङ्घमा रहनु भएका टिम अहिले खेल्ने खेलाडीहरू नै पर्याप्त भएको कारणले गर्दा पनि नेट तयार गर्न सहज भएको उहाँले बताउनुभयो । 

सङ्घका पदाधिकारी तथा खेलाडीहरूले गरेको श्रमदान बाहेक ८५ हजार रुपियाँ खर्च लागेको अध्यक्ष पौडेलले बताउनुभयो । अहिले बेनीर्मा सुरज भट्टराई, सन्दीप बानियाँ, पवन, प्रवीण पौडेल, छवि आचार्य लगायत खेलाडीले नियमित खेल्दै आउनुभएको छ । नियमित अभ्यास र राम्रो एक्सपोजर पाएको खण्डमा म्याग्दीबाट क्रिकेट खेलमा राम्रो प्रतिभा निस्कन सक्ने सङ्घका अध्यक्ष पौडेलको भनाई छ ।