• १३ साउन २०८१, आइतबार

नेपालगन्जमा नवौँ राष्ट्रिय योग दिवस मनाइयो

blog

योग समितिका आजीवन सदस्य नीलबहादुर शाक्यलाई सम्मान गर्नुहुँदै नेपालगन्ज प्रमुख प्रशान्त विष्ट र नरैनापुर अध्यक्ष शाह । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, माघ १ गते । योग समिति नेपालले सोमबार बिहान नेपालगन्जमा नवौँ राष्ट्रिय योग दिवस मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरेर योग समितिले राष्ट्रिय योग दिवस मनाएको हो । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको विशेष उपस्थितिमा योग समिति नेपालले योग दिवस मनाएको योग गुरु गिरिराज भट्टराईले जानकारी दिनुभयो । 

नेपालगन्ज उपमहानगर प्रमुख विष्टले आधुनिक समाजमा योगको महत्त्व बढ्दै गएको बताउँदै शारीरिक सुस्वास्थ्य र स्वस्थ जीवनशैलीका लागि योग अति आवश्यक रहेको बताउनुभयो । शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको भन्दै उहाँले सबै व्यक्तिले योग गर्नुपर्नेमा जोड दिनुभयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँ गाउँमा गर्न जरुरी रहेको बताउनुभयो । उहाँले योगले शारीरिक तथा मानसिक रूपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले स्थानीय सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको पनि जानकारी दिनुभयो । 

अध्यक्ष शाहले नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाको सहयोगमा राष्ट्रिय स्तरको योग सम्मेलन गर्नका लागि तयारी गर्न समेत योग समिति नेपाललाई आग्रह गर्नुभयो ।

कार्यक्रममा योगमार्फत मानवसेवामा अतुलनीय योगदान पुर्‍याएको भन्दै योग समितिका आजीवन सदस्य नीलबहादुर शाक्यलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । 

कार्यक्रममा सहभागीहरूलाई योग गुरु भट्टराईले योगको प्रशिक्षण दिनुका साथै यसको महत्वका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा नरैनापुरका प्रेस विज्ञ एवम् मानव अधिकारकर्मी आलम खान, पत्रकार रुद्र सुवेदी, अधिवक्ता विश्वजित तिवारीलगायत सर्वसाधारणको सहभागिता थियो ।