• १२ मंसिर २०८१, बुधबार

बाली जोगाउन खेतमै जाग्राम

blog

धनगढी समाचारदाता

धनगढी,माघ १  गते । कैलारी गाउँपालिका–३, भर्रीका कृषक नाथुराम चौधरीलाई गहुँबाली जोगाउन निकै चिन्ता छ । छाडा चौपायाले रातिको समयमा बाली सखाप पार्न थालेपछि उहाँ खेतमै जाग्राम बस्न थालेको महिना दिन भइसकेको छ । 

“खेतमै राति बस्दा पनि गहुँ र मुसुरो जोगाउन मुस्किल भएको छ,” कृषक चौधरीले भन्नुभयो, “एकातिरबाट धपाउँदा अर्कोतिरबाट आएर खाइहाल्छन् ।” कैलारी बजपुरका सीताराम चौधरीलाई पनि हरेक रात खेतमा बास नबसी सुख छैन ।

वसन्ता कोरिडोर सडक क्षेत्रमा रहेका छाडा चौपाया राति खेतमा पसेर नोक्सान गर्न थालेकाले हिउँदको चिसो रातमा स्थानीय कृषक हिउँदे खेती जोगाउन रातभर खेतबारीमा बस्न थालेका हुन् । 

“खेतमा जाग्राम बस्न गइएन भने वर्षभरिलाई खानका लागि तयार हुने बालीलाई छाडा चौपायाले एकै रातमा सखाप पाछर््न्,” उहाँले भन्नुभयो, “पेट पाल्नका लागि किसानलाई सजिलो कहाँ छ र ?”

नाथुराम र सीताराम जस्तै धेरै किसान छाडा पशुचौपायाका कारण पीडित छन् । छाडा चौपायाबाट खेतीपातीमा नोक्सानी किसानको साझा समस्या हो । हिउँदयाममा छाडा चौपायाले अझ बढी नोक्सान गर्ने गरेकाले अहिले धेरैजसो गाउँका किसान खेतमै बास हुन थालेको छ । उनीहरू छाडा चौपाया धपाउनका लागि ससाना झुपडी बनाएर खेतमै बास बस्ने गरेका छन् । चौपायाबाट बाली जोगाउनका लागि खेत, वनजङ्गल छेउछाउमै रातभर जाग्राम बस्नु परेको कैलारी गाउँपालिका–७, भुइँयाफाँटा गाउँका किसान चिपुराम डङ्गौरा बताउनुहुन्छ ।

हिउँदे बाली खानका लागि छाडा चौपाया खेतमा जान थालेपछि सिङ्गो गाउँ नै जाग्राम बस्न थालेको उहाँले सुनाउनुभयो । “अत्यधिक छाडा गाईगोरु बड्का बनुवाँ क्षेत्रमा रहेका छन् ।

ती गाईगोरु खेतमा गएर नोक्सान गर्न थालेपछि वनको छेउछाउमा टहरा बनाएर गाउँभरिकै मानिस रातभर जाग्राम बस्ने गरेका छौँ,” उहाँले भन्नुभयो । छाडा चौपाया धपाउनका लागि एक गाउँको तीन समूह विभाजन गरिएको छ । समूह मिलाएर पालैपालो राति छाडा गाईगोरु धपाउन जानु पर्दछ । 

सयौँको सङ्ख्यामा आउने छाडा चौपायाले खेतमा पुग्नेबितिक्कै बालीनाली सखाप पार्ने गरेको कृषकको भनाइ छ । “छाडा गाईगोरुको झुन्ड जता खेतमा पस्यो, उतै बाली सखाप हुने गर्दछ,” कैलारी गाउँपालिका–५, जबदहुवाका जयराम चौधरीले भन्नुभयो । उहाँका अनुसार केही दिन पहिलेसम्म वनजङ्गल आसपासका खेतमा मात्रै छाडा चौपाया पल्केका थिए तर अचेल वन क्षेत्रभन्दा टाढा रहेको गाउँका खेतमा पनि छाडा चौपाया पुग्न थालेका छन् । 

भारततिरबाट पनि धेरै छाडा चौपाया आएर खेतीपातीमा नोक्सान गर्ने गरेको किसानको भनाइ छ । सीमा क्षेत्रका गाउँ भितरिया, भर्री, के गाउँ, निमुवाबोझी, मोहनपुर, बैजपुर, मनिकापुर, भुइँयाफाँटा, रामपुर, वसन्तालगायतका गाउँका किसान छाडा चौपायाले आजित छन् । 

छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा किसानले ठुलो समस्या झेल्नु परेको कैलारी–५ का वडाध्यक्ष विष्णुप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार बड्का वनुवाँमा मात्रै करिब तीन÷चार हजारको सङ्ख्यामा छाडा चौपाया रहेका छन् । चौपाया व्यवस्थापनका लागि वडा नम्बर ७ मा गौशाला निर्माण गर्न खोज्दा वनले बनाउन नदिएको चौधरीले बताउनुभयो ।