• २० असार २०८२, शुक्रबार

माघे सङ्क्रान्तिका अवसरमा प्रदेश प्रमुख शर्माको शुभकामना

blog

राममणि दाहाल

हेटौँडा, माघ १ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले माघी पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धिमा सहयोग पुर्‍याउने बताउनुभएको छ ।

नेपालमा हरेक वर्ष माघ १ मा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा आज सोमबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस पर्वले देशका सबै भागमा बसोबास गर्ने हामी नेपालीहरूबिच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्ने बताउनुभएको हो ।

प्रदेश प्रमुख शर्माले हामीहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्दै शुभकामना सन्देशमा भन्नुभएको छ, हामी हाम्रा मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण तथा संवर्द्धन गर्दै अघि बढौँ ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आज मनाइँदै गरिएको माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।

हाम्रो देश नेपाल भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको बताउँदै उहाँले शुभकामना सन्देशमा यी विविधताहरूप्रति हामीले गौरव गर्नुपर्ने बताउनुभएको छ ।

माघी थारु समुदायले हर्षोल्लासपूर्ण वातावरणमा मनाउने पर्व हो । माघ १ गतेकै दिन अन्य समुदायहरूबिच पनि मकर सङ्क्रान्तिका रूपमा यो पर्व मनाइन्छ ।