• १३ साउन २०८१, आइतबार

बढ्यो कन्दमूलको व्यापार

blog

गाईघाट समाचारदाता

गाईघाट, माघ १ गते माघेसङ्क्रन्ति पर्वका लागि भन्दै सदरमुकाम गाईघाटलगायत जिल्लाका कटारी र बेल्टार बजारमा तिल, तरुललगायतका कन्दमूलको व्यापार बढेको छ । नेपाली समाजमा परम्परादेखि सनातन रूपमा चलिआएको माघेसङ्क्रन्ति पर्व मनाउनका लागि केही दिनयता उदयपुरका हाटबजारमा सर्वसाधारण उपभोक्ताको तिल, सक्खर, वनतरुल, सिमलतरुल, इस्कुसको जरा, सुठुनी र घरतरुल जस्ता कन्दमूलको बिक्री तथा किनमेलको व्यापार बढेको हो  ।  

माघेसङ्क्रन्तिका दिन बिहानै उठेर मकर स्नान गरी उसिनेको वनतरुल र सक्खरको लेदोमा डल्ला पारेर बनाइएको तिलका लड्डुको परिकार खाएर तिलकै घसेटा बालेर आगो ताप्ने सामाजिक प्रचलन अनुसार नै आफूहरूले तिल, तरुललगायतका कन्दमूल किनेको गाईघाट बजारकी गृहिणी उर्मिला बस्नेतले बताउनुभयो ।

बजारमा भुस फालेको सेतो तिल प्रतिकिलोग्राम तीन सय ६० रुपियाँ, कालो तिल प्रतिकिलो तीन सय रुपियाँ, सक्खर प्रतिकिलो ८० रुपियाँ, वनतरुल प्रतिकिलो तीन सय ५० रुपियाँ, घरतरुल ९० रुपियाँ, इस्कुसको जरा १४० रुपियाँ, सिमलतरुल ७५ रुपियाँ र सुठुनी प्रतिकिलो ८० रुपियाँका दरले  बिक्री भइरहेको स्थानीय खुद्रा व्यापारी कमला राईले बताउनुभयो । 

विगत वर्षमा जस्तै यस वर्ष पनि तिलको  बिक्री अत्यधिक बढेको व्यापारीको भनाइ छ । कोशीटप्पुस्थित मध्यवर्ती क्षेत्रबाट गाईघाटमा तिल  बिक्री गर्न आउनुभएका व्यापारी हिरा साहले एक साताभित्रमा मात्रै पाँच क्विन्टल सेतो तिल आफूले मात्र  बिक्री गरेको र आफू जस्ता यहाँ १५ भन्दा बढीको सङ्ख्यामा रहेका व्यापारीले ठुलो परिमाणमा तिल आयात गरी  बिक्री गर्दै आएका बताउनुभयो ।

माघेसङ्क्रन्तिका दिनदेखि सूर्य उत्तरायण हुने र दिन पनि लामो हुने भएकाले यसैको खुसियालीमा तिल, तरुललगायतका कन्दमूल खाने प्रचलन पुरानो भएको त्रियुगा नगरपालिका–११, गाईघाटका उपभोक्ता राजु बस्नेतले बताउनुभयो । चौधरी समुदायमा पनि सक्खरको तातो घोलमा भुटेको तिल र भुजा मिसाएर बनाइएको लड्डु आफन्तलाई समेत खुवाउने चलन रहेको छ । सरकारले पनि माघी पर्व भन्दै सो दिन सार्वजनिक बिदा दिने गरेकाले यो पनि राष्ट्रिय पर्वकै रूपमा मनाउन थालिएको गाईघाट–११ कै अर्का उपभोक्ता लीला चौधरीले बताउनुभयो ।