• १३ साउन २०८१, आइतबार

पाँच महिनामा भित्रियो चार अर्ब विदेशी लगानी

blog

काठमाडौँ, माघ १ गते । मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालुु आर्थिक वर्षको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि मङ्सिर महिनासम्म तीन अर्ब ९२ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपियाँ भित्रिएको थियो ।  

चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो लगानी एक अर्ब ४० करोड ऋणात्मक थियो । लाभांश र रोयल्टीबापत बाहिरिएको रकम बढी भएको अवस्थामा खुद प्रत्यक्ष वैदेशिक लगानी ऋणात्मक देखिएको हो । 

लगानीयोग्य वातावरणका साथै नीतिगत सुधारका कारण मुलुकमा भित्रिने लगानीमा सुधार 

यस्तै भदौ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्बले धनात्मक थियो भने अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९७ लाखले ऋणात्मक थियो । असोजमा तीन अर्ब ३७ करोड रुपियाँले खुद प्रत्यक्ष वैदेशिक लगानी धनात्मक रहेकोमा अघिल्लो वर्षको सोही अवधिमा सात करोड ९६ लाख रुपियाँले धनात्मक रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । विभागका महानिर्देशक बाबुराम गौतमले लगानीयोग्य वातावरणका साथै नीतिगत सुधारका कारण मुलुकमा भित्रिने लगानीमा सुधार आएको जानकारी दिनुभयो ।

पर्यटक आगमन, जलविद्युत् क्षेत्रमा भएको नीतिगत सुधारले लगानी बढ्दै

औद्योगिक क्षेत्रलाई प्रवर्धन गर्ने सरकारको नीति छ, प्रव्रिmयागत सरलीकरण, अन्तरनिकाय समन्वय, लगानीकर्तालाई प्रतिफल लैजानका लागि गरिने शीघ्र निर्णयले पनि यस वर्ष विदेशी लगानी बढेको उनको भनाइ छ  । कोभिडपछि पर्यटक आगमन बढ्नु, जलविद्युत् क्षेत्रमा भएको नीतिगत सुधार, लगानीकर्ताले यी क्षेत्रमा लगानीको सम्भावना उच्च देखेकाले पनि लगानी बढ्दै गएको छ, महानिर्देशक गौतमले भन्नुुभयो । विभागले लगानी भित्रयाउने गरी प्रक्रियागत प्रणालीलाई सरलीकरण गराउँदै गएको उहाँको भनाइ छ ।विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ को व्यवस्था अनुसार छ अर्ब रुपियाँसम्मको विदेशी लगानीको स्वीकृत उद्योग विभागले गर्छ । त्यसभन्दा माथिको विदेशी लगानी बोर्डको कार्यालयले स्वीकृत गर्ने जनाएको छ । 

सरकारले विदेशी लगानीलाई सहजीकरण गर्न गत वर्षको मङ्सिरदेखि विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँ बनाएको छ । लगानीको सीमा घटेका कारण साना लगानीकर्ताको आकर्षण बढ्दै गएको छ ।