• १९ असार २०८१, बुधबार

बिपी प्रतिष्ठानमा ओपिडी सेवा बन्द

blog

धरान समाचारदाता 

धरान, माघ १ गते । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकको अन्तर्वार्ता नियमित नभएपछि आइतबारदेखि पुनः ओपिडी सेवा बन्द भएको छ ।  पछिल्लो समय बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकको बढुवा प्रक्रिया रोकिएपछि आन्दोलनरत भइरहेकोमा गत कात्तिक २० गते धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलको रोहबरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्यमन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सम्पन्न गर्ने सहमति भएको थियो ।

समय बितिसक्दा पनि सहमति अनुसार बढुवाको अन्तर्वार्ता नियमित नभएपछि केही दिनदेखि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्त रूपमा आन्दोलनमगरिरहेकामा आइतबारदेखि पुनः ओपिडी सेवा र विद्यार्थीको पठनपाठन बन्द गरेको छ । 

बिपी प्रतिष्ठानको ओपिडी सेवा, विद्यार्थीको पठनपाठनबाहेक इमर्जेन्सी, आइसियु, डायलाइसिस र वार्डमा भर्ना भएका बिरामीको उपचार भइरहेको छ । 

वराह नगरपालिका–७  निवासी इन्केस राई उपचारका लागि बिहान बिपी प्रतिष्ठान आए पनि ओपिडी काउन्टर नखुलेपछि घर फर्कन बाध्य हुनुभयो । ओपिडी काउन्टर बन्द भएका कारण उहाँ जस्तै उपचारका लागि विभिन्न जिल्लाबाट आएका बिरामी अलपत्र परेका छन् । 

वर्षौंदेखि रोकिएको बढुवा प्रक्रिया नियमित हुनुपर्ने माग गर्दै शिक्षक, कर्मचारीले पटक पटक आन्दोलन गर्दै आएका छन् । गत कात्तिक २० गते आन्दोलनरत शिक्षक, कर्मचारीसँग व्यवस्थापन पक्षले छुट्टाछुट्टै चारबुँदे सहमति गरेको थियो । सहमतिबमोजिम आवश्यक विधि र प्रव्रिmया पूरा गरेर पुस २ देखि १५ गतेसम्म अन्तर्वार्ता नियमित गर्ने सहमति भएको थियो । उपकुलपति प्राडा प्रह्लाद कार्कीले कार्यकारिणी बैठक बोलाएर आफैँ बिदामा बसेपछि आक्रोशित आन्दोलनकारीले उहाँलाई प्रतिष्ठानमा प्रवेश निषेध गरेका छन् भने बर्खास्त गर्न पनि कुलपति एवं प्रधानमन्त्रीलाई पत्राचारसमेत गरेको छ ।