• १३ साउन २०८१, आइतबार

माघ २ गतेदेखि सत्ता गठबन्धनका उम्मेदवारको चुनावी अभियान

blog

सत्ता गठबन्धनका दलहरुको राष्ट्रिय सभा निर्वाचन प्रचारप्रसार मुल समितिले आइतबार आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार किरणबाबु श्रेष्ठ। तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, पुस २९ गते। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन लक्षित गरी गण्डकी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार माघ २ गतेबाट चुनावी अभियानमा जाने तय भएको छ। गठबन्धनको निर्वाचन प्रचारप्रसार मूल समितिले आइतबार पत्रकार सम्मेलन गरी मतदातासँग भेटघाटको तालिका सार्वजनिक गरेको हो। 

राष्ट्रियसभामा गण्डकीमा तीन सदस्य चुनिँदै छन्। त्यसका लागि २३ गते उम्मेदवारी दर्ता गरेका चार दलका आठ जना उम्मेदवार र दल चुनावी मैदानमा छन्। यो निर्वाचनका लागि ८५ पालिकाका प्रमुख÷उपप्रमुख र ६० प्रदेशसभा सदस्य गरी तीन सय ३० मतदाता छन्। 

सत्ता गठबन्धनले माघ २ गते नवलपुर, ३ गते गोरखा र लमजुङ, ४ गते तनहुँ र ५ गते स्याङ्जामा मतदाता भेटघाट तालिका तय गरेको छ। यस्तै, माघ ६ गते म्याग्दी र बागलुङ, ७ गते पर्वत र कास्की र ८ र ९ गते मनाङ र मुस्ताङका मतदातासँग भेटघाट गर्ने तय भएको समिति संयोजक एवम् नेपाली काङ्ग्रेस गण्डकी सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो। 

निर्वाचनलाई दृष्टिगत गरी सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसका विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा निर्वाचन व्यवस्थापन समिति बनाएको छ। प्रचारप्रचार उपसमिति र निर्वाचन व्यवस्थापन उपसमितिमा गठबन्धनका सबै दलका मुख्य नेता सदस्य हुनुहुन्छ। 

सत्ता गठबन्धनको भागबन्डामा अन्यबाट काङ्ग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्ग कोटाबाट काङ्ग्रेसकै पदमबहादुर परियार उम्मेदवार हुनुहुन्छ। गोरखाका श्रेष्ठ काङ्ग्रेस गण्डकी महामन्त्री हुनुहुन्छ भने तनहुँका परिपार काङ्ग्रेस निकट अधिकारकर्मी हुनुहुन्छ। 

गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रदेशमा महिला क्लस्टरबाट पर्वतकी मनरुपा शर्मालाई उम्मेद्ववार बनाएको छ। नेकपा (माओवादी केन्द्र) पर्वत जिल्ला संयोजक रहनुभएकी शर्मा सहिद परिवारकी सदस्य हुनुहुन्छ।

कार्यक्रममा उम्मेदवारले आफूहरु सत्ता गठबन्धनको साझा उम्मेदवार बनेको र निर्वाचित भएपछि पनि सोही विषयलाई दृष्टिगत गरी कार्यसम्पादन गर्ने वाचा गर्नुभयो। 

प्रदेशमा नेकपा (एमाले)बाट अन्य क्लस्टरबाट चक्रबहादुर पराजुली, महिलाबाट सम्झना देवकोटा र अपाङ्ग, अल्पसङ्ख्यक क्लस्टरबाट हेमन्द्र शेरचन उम्मेदवार हुनुहुन्छ। राप्रपाबाट अन्यमा रोमबहादुर भण्डारी र महिलाबाट गौमाया श्रेष्ठ उम्मेदवार बन्नुभएको छ।

गण्डकीमा एक्ला एक्लै चुनाव लड्ने हो भने काङ्ग्रेस सबैभन्दा बलियो छ। गण्डकीमा प्रदेशसभामा ६० सदस्य र ८५ पालिकाबाट एक सय ७० मतदाता छन्। यहाँ काङ्ग्रेसको मतभार दुई हजार तीन सय २४ छ भने नेकपा एमालेको कुल मतभार दुई हजार चार सय ५८ हुन आउँछ। 

प्रदेशमा माओवादीसँग नौ सय ९४ मतभार देखिन्छ भने प्रदेशमा एकीकृत समाजवादीसँग ७२ र राष्ट्रिय जनमोर्चासँग ५७ मतभार छ। दुई प्रदेशसभा सदस्य रहेको राप्रपाको एक सय छ मतभार छ।  मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जित्नुभएको हो।