• ५ जेठ २०८१, शनिबार

प्रधानमन्त्री कप क्रिकेट : एपिएफको सुखद सुरुवात

blog

जितपछि एपिएफका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, पुस २९ गते । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ८९ रनले हरायो । जितसँगै एपिएफले दुई अङ्क बनाएको छ । लगातार दोस्रो हार खेपेको बागमतीले अङ्कको खाता खोल्न सकेको छैन । 

जितमा लागि दुई सय ४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५२ रनमा समेटिएको थियो । बागमतीका लागि कप्तान रित गौतमले ६० रन बनाउनुभयो । यसैगरी आशुतोष घिरैयाले ४१, रविन जोशीले अविजित २० र विवेक मगरले १५ रन जोड्नुभयो । बलिङमा एपिएफका कप्तान रोहित कुमार पौडेलले चार विकेट लिनुभयो । अविनाश बोहरा र श्याम ढकालले दुई दुई तथा पूर्ण विक र भुवन कार्कीले एक एक विकेट लिनुभयो । 

यसअघि हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओरभरमा नौ विकेटको क्षतिमा दुई सय ४१ रन बनाएको थियो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक एक सय १२ रन बनाउनुभयो । यस्तै लोकेश बमले २७, यसैगरी अमरसिंह रौटेलाले २२, अविनाश बोहराले अविजित १८, आसिफ शेखले १५ तथा प्रज्ज्वल शाही र भुवन कार्कीले १०/१० रन जोड्नुभयो । 

बलिङमा बागमतीका लागि सूर्य तामाङले तीन विकेट लिनुभयो । प्रतिश जिसी र रिजन ढकालले दुई दुई तथा सोनु देवकोटाले एक विकेट झार्नुभयो । यस्तै भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको अर्को खेलमा कर्णालीले गण्डकी प्रदेशलाई सात विकेटले हराएको छ ।