स्वास्थ्यको दायित्व पनि राज्यले लिने र न्यूनतम बिमा रकममा स्वास्थ्य उपचार गर्ने, स्वास्थ्य शिक्षामा सर्वसुलभता आदिको ग्यारेन्टी राज्यले लिने गर्यो भने पनि गाउँको रौनक फर्कन मद्दत पुग्छ । दुर्घटना, असाध्यै बिरामी र सुत्केरीका लागि एम्बुलेन्स, तत्काल राहत र उद्धारका लागि हेलिकप्टर आदि स्ट्यान्डबाइ राख्ने प्रबन्धमार्फत गाउँलाई जगाउन सकिन्छ ।
दशकअघिसम्म गाउँ खाली भए पनि सहर भरिएको हुन्थ्यो । मान्छे देशमै छन्, सहरमै छन्, गाउँमा केही अप्ठ्यारो परिहाले आज नभए भोलिसम्म पुगिहाल्छन् भन्ने स्थिति थियो । जिल्ला जिल्लाका सदरमुकामदेखि मुख्य मुख्य सहर पोखरा, विराटनगर, जनकपुर, राजविराज, धनगढीसहित राजधानी काठमाडौँ हुँदै ललितपुर भक्तपुरसम्म क्रमशः मान्छे घटिरहेका छन्, देश बाहिर युवा छन् । देश क्रमशः रित्तिँदै छ ।
मान्छे मर्यो भने पनि आफन्त वा छोराछोरी आउने बाटो हेरेर लासले कुरेर बस्नु पर्ने भएको छ । आफन्तको मृत्यु वियोगमा नजिक गएर सहानुभूति र सान्त्वना सहयोग र समवेदना दिने मान्छेको समेत खाँचो हुँदै गएको छ । गाउँमा बलिया बाङ्गा, पाखुरा भएका तन्नेरीहरू छैनन्, छन् त कमजोर वृद्धवृद्धा र अशक्त निराधार मान्छेहरूको मात्रै बसोबास छ । गाउँमा शव काँधमा राखेर हिँडने मान्छेहरूको अभाव छ । कति गाउँपालिकाले लास राख्ने डिफ्रिज खरिद गरेको सुन्न र देख्न पाइन्छ । यस्ता कुरा पढ्दा र दृश्य हेर्दा मन भक्कानिन्छ ।
जनसङ्ख्याको ठुलो हिस्सा त्यसमा पनि सवाल र सक्षम युवा परदेश पठाएर देश बाँचिरहेको छ । १२ कक्षा सक्दै गरेको एउटा कर्णधार साथीलाई खाडीमा भेटौला भन्छ । प्रशस्तै कमाइ गरेर बसेको कुनै समय पनि बिरामीको अभाव नहुने स्वरोजगार वरिष्ठ डाक्टर यो देशमा बसेर मैले गल्ती गरेछु भन्छन् । किन भनेर प्रश्न गर्यो भने आफन्त, इष्टमित्र, छोराछोरी कोही नबस्ने देश बस्न कसलाई रहर हुन्छ भनेर जवाफ दिन्छन् । अब देशमा कमाइ राम्रो हुनेलाई समेत बस्न मन लाग्न छोडी सक्यो । कमाइ नहुने र अवसर नहुनेका कुरै छोडौँ ।
यस्तो किन भयो ?
सहरिया जीवन र चालचलन, शैली र परम्परालाई समृद्धिको मानक र ग्रामीण जीवनलाई गरिबी, आर्थिक अभाव पछौटेपन, अशिक्षा र असभ्यतासँग जोडेर हेर्ने क्रम बढ्यो । गाउँमा गरिने श्रम लज्जाको विषय बन्यो भने सहर र परदेशमा गरिने श्रम गर्वको विषय बन्यो । त्यति मात्र होइन सहरले जागिरको आकर्षक रोजगारी पनि दियो । गाउँले कृषिमा गरिने श्रम हेयको विषय भयो तर अन्तर्राष्ट्रिय बजार र विशेषतः खाडी मुलुकमा श्रम बेच्न जानुलाई उचित ठानियो । बाहिर जानु नै सभ्य हुनु र देश बुझ्नु विदेश बुझ्नुको रूपमा हेर्न थालियो, गर्व र प्रतिष्ठाको विषय बनाइयो । राष्ट्र हाँक्ने दल पार्टी र तिनका नेताले गाउँ सम्झिएनन् । गाउँ जगाउने र जोगाउने कुरा बिर्से । विगतमा ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ भन्दै गाउँ जगाउँदै हिँड्नेहरू गाउँको विकासमा जोडिने गीत बनाएर गाउँ पुगेनन् । गाउँको आकर्षणले कसैलाई तानेन । नाम चलेका नेता, सांसद र कर्मचारीहरू सबैले सहरमा घर बनाएर गाउँ परित्याग गरे ।
‘आफ्नो गाउँ आफैँ बनाउँ’ भनेर २०५१ मा गाउँलाई प्राथमिकता राख्ने एमालेका नेताहरू आज बिना ढेउवाके विदेश भनेर गाउँलेलाई विदेश निर्यात गर्न पाउँदा खुसी हुन लागे । लामो समय नेपालको शासन सत्ताको नेतृत्व गरेको कांग्रेसले गाउँमुखी कार्यक्रम बनाएर लान सकेन । गाउँमै सेल्टर बनाएर ६० प्रतिशत गाउँ आफ्नो कब्जामा राखेर सशस्त्र सङ्घर्ष विस्तार गरेको माओवादी पनि गाउँ निर्माण गर्ने मुद्दामा नराम्रोसँग चुक्यो । फलतः सबैले माया मारेको कारण गाउँ श्रीहीन बन्यो । गाउँको आकर्षण र श्री खोसेको सहर पनि आफैँ आज बिस्तारै फिक्का र रङ्गहीन बन्दै छ । सहरले पनि श्री गुमाइसकेपछि देश नै उजाड र सुक्खा बन्ने चरणमा छ । सहरका पनि प्रायः घरका छोराछोरी देश बाहिर छन् । हजारौँले देश छोडेको दारुण चित्रले प्रत्येक दिन एयरपोर्टमा रुवावासी चल्छ ।
अब के गर्ने ?
स्वास्थ्य र शिक्षा यति महँगो भयो, जसले गर्दा कमाउन र पढ्न परदेश जानै पर्ने भयो । गाउँको कमाइले जीवन धानिएन । गाउँमा स्कुल नभएको र स्कुल भवन अनि शिक्षक शिक्षिका नभएका होइनन् । नभएको गुणस्तरीय शिक्षा हो । विश्व बजारसँग प्रतिस्पर्धा गर्नेदेखि आफ्नो काम आफैँ गरेर खाने, उद्यमी आफैँ बन्ने कृषि आफैँ गर्ने, श्रम गर्न लाज नमान्ने, श्रमलाई माया गर्ने सिप प्रविधि र रोजगारमूलक शिक्षा गाउँमा दुर्लभ छ त्यसैले शिक्षालाई सर्वोपरि ठान्ने चेतले अलिअलि भएका मान्छे र तिनका केटाकेटी पनि सहरतिर जाने कारण गाउँ शून्य भएको पाइन्छ ।
सामुदायिक शिक्षाको स्तर उन्नति समय अनुसारको पाठ्यक्रम र रोजगार प्रवर्धन गर्ने शिक्षा रोजगार भनेको लिने मात्र होइन दिने उद्यमी बनाउने शिक्षाको सख्त जरुरी छ । शिक्षाको पुनर्संरचना बिना नयाँ संस्कृति र नयाँ चेतको भाष्य निर्माण सम्भव छैन । कृषिलाई मानव सभ्यताको प्रारम्भको सभ्यता र सम्मान मान्ने शिक्षा, ग्रामीण पर्यटन, होमस्टे आदिबाट सम्भावना खोज्ने पर्यटन र उद्यमी बनाउने शिक्षामा लगानी गर्दै गाउँ हराभरा बनाउनु आवश्यक छ ।
सहर केन्द्रित कुखुरा पालन, पशुपन्छी पालन, पशुवध, तरकारी खेती उद्योगलाई गाउँ पठाउने राज्यले नीति अख्तियार गर्नुपर्ने देखिन्छ । खेतबारी बाँझो नराख्न कृषिमा प्रविधि, मल बिउबिजन, सिँचाइ कुलोदेखि अनुदान राहत, क्षतिपूर्ति र बिमा सहुलियतदेखि कृषि सामग्री स्थानीय सरकारले नै खरिद गर्ने व्यवस्था गर्दा गाउँका जग्गा बाँझा नरहने र गाउँमा युवा बस्ने रमाउने वातावरण बन्न सक्छ । खाली जग्गामा फलफूलका बोट बिरुवा लगाउन उत्प्रेरित गर्न, घरेलु मदिरा उत्पादनलाई व्यवस्थित गर्न, गाँजालाई वैध बनाएर गाँजा खेतीको नीति ल्याएर गाँजालाई राष्ट्रिय आयको अभिन्न अङ्ग बनाउनेतर्फ सरकार राजनीतिक दल, कृषि विज्ञहरू, नीति निर्माता लाग्ने हो भने देश बन्न समय लाग्दैन ।
स्वास्थ्य यति महँगो भयो कि ? बिरामी भएपछि सामान्य मान्छेको घर खेत सकिने ऋण लाग्ने हुन थाल्यो तब पैसा कमाउन मान्छे लेबर बन्न पनि परदेशिनु पर्ने बान्ध्यता बन्यो । पढाइ, रोजगार, शिक्षा र स्वास्थ्यका लागि गाउँदेखि सहरसम्मको मान्छे बिदेसिएको छ, तसर्थ देश युवाविहीन र आकर्षणविहीन भएको हो ।
स्वास्थ्यको दायित्व पनि राज्यले लिने र न्यूनतम बिमा रकममा स्वास्थ्य उपचार गर्ने स्वास्थ्य शिक्षामा सर्वसुलभता आदिको ग्यारेन्टी राज्यले लिने ग¥यो भने पनि गाउँको रौनक फर्कन मदत पुग्छ । दुर्घटना, असाध्यै बिरामी र सुत्केरीका लागि एम्बुलेन्स, तत्काल राहत र उद्धारका लागि हेलिकप्टर आदि स्ट्यान्डबाइ राख्ने प्रबन्धमार्फत गाउँलाई जगाउन सकिन्छ ।
ग्रामीण अर्थतन्त्रका कुरा
गाउँको मौलिकता बारे नीति नियम बनाउने कसैले सोचेनन् । गाउँ प्राथमिकतामा पर्नु भनेको कृषिमा ध्यान पुग्नु थियो त्यो भएन । कृषि बोझिलो झन्झटिलो बन्यो निर्वाहमुखीसमेत बन्न सकेन । गाउँले कृषिको प्राण त गइसकेको छैन तर अब जानेवाला छ भन्यो भने अन्यथा हुने छैन । नेपाललाई कृषिप्रधान देश भनिन्छ । राज्यको आर्थिक स्रोतको मुख्य आधार कृषि मानिन्छ तर कृषिको अवस्था दयनीय र अधोगतिमा छ ।
२० औँ शताब्दीमा भारतमा महात्मा गान्धीले प्रखर रूपमा ग्रामीण अर्थतन्त्रको वकालत गरेका थिए । आधारभूत आर्थिक चिन्तन नै ग्रामीण अर्थतन्त्रलाई बनाएका थिए र आज भारत कृषिमा पनि मजबुत छ । नेपालले पनि गाउँ बनाउने नीति बनाउन ढिला गर्नु हुन्न । हालै आफूले अध्ययन गरेको सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेलले भन्दै हुनुहुन्थ्यो, “लोकतन्त्रपछि गाउँमा शिक्षा, सडक, सञ्चार स्वास्थ्य र बिजुली पुग्यो तर उपभोग गर्ने मान्छे भएनन् । गाउँ रित्तिँदै गयो यसतर्फ ध्यान केन्द्रित गराैँ ।” त्यसै गरी नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि नेकपा एमालेले आयोजना गरेको मङ्सिर १४ बाट वबतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङको लङमार्चमा मानवविहीन गाउँ देखेर, उजाड बस्ती देखेर, बाँझा खेतबारी देखेर सोचमग्न बन्नु परेको भयो ।
राष्ट्रिय जनगणना २०७८ लाई हेर्दा कृषिमा संलग्न जनसङ्ख्या ५०.१ प्रतिशत रहेको पाइन्छ । जब कि २०६८ को जनगणनामा ६५.६ प्रतिशत थियो, यसैबाट थाहा हुन्छ १० वर्षको अन्तरालमा हाम्रो कृषि कति ओरालो लागेको छ । हाम्रा कृषियोग्य जमिन बाझिने क्रम तीव्र छ । एकातिर कृषिमा लगानी अनुसार उत्पादन छैन, कृषि मजदुरको अभाव छ । अर्मपर्म मेलापात गर्ने मान्छे छैनन् । उत्पादन भए बजारले भारतीय र चिनियाँ कृषि सामग्रीसँग प्रतिस्पर्धा गर्न सक्दैन तब कृषि धर्मरिनु अनौठो भएन ।
कृषिमा लागत अनुसार प्रतिफल आएन कृषि जोखिमयुक्त बन्यो । किसानले दुःख गरी लगाएको बालीनालीको समेत असुरक्षा बढ्दै गयो । बालीनाली वन्यजन्तुहरू बँदेल, मृग, खरायो र बाँदरले खाएर हैरान बनायो । बाँदर आतङ्क ग्रामीण अर्थतन्त्रका लागि सबैभन्दा ठुलो चुनौती बनेको छ । ठुलो उत्साह लिएर कृषिमा होमिएको पुस्ता पनि अनपेक्षित हानि र क्षयले आक्रान्त छ, यस्तो बेला ढाडस दिने, सहजकर्ता बनिदिने स्थानीय सरकार भएन । बैङ्कको लगानी अनुत्पादक क्षेत्र घर घडेरीमा सहजै भयो तर उत्पादनमूलक, आयमूलक रोजगारीमूलक कृषिमा हुन सकेन । कृषक कसैका बन्न सकेनन् । अतः कृषिको हालत रुग्ण बन्दै गयो ।
परनिर्भरता
गाउँमा कृषि अपहेलित र अमर्यादित बनेको छ । हलो धुलोसँग वितृष्णा छ । घरनजिकै र करेसामा सजिलै उत्पादन हुने आलु, साग, लसुन, प्याज खोर्सानी, गुन्द्रुक, मसलाजन्य बालीनाली लगाउन छोडियो । किनेर खान सस्तो पर्ने र किन्दा गर्व गर्ने संस्कृति बनेको छ । जसको कारण परनिर्भरता बढ्दो छ । हिन्दु धर्म मान्नेहरूको अधिक बाहुल्यता भएको देशमा जनैसमेत आयात गर्न थालियो । यदि गाउँको अर्थतन्त्र चलायमान र मजबुत हुन्थ्यो भने हामी आत्मनिर्भर बन्दै जान सक्छौँ । खाद्यान्नमा आत्मनिर्भर हुँदै जाँदा अर्थ राजनीतिमा पनि सहजता प्राप्त हुन्थ्यो । सहरी अर्थतन्त्रको परिपूरक ग्रामीण अर्थतन्त्र बनाउन सकियो भने गाउँको र देशको साख पुनस्र्थापना सहजै गर्न सकिन्छ । कृषिमा आधारित ग्रामीण अर्थतन्त्रले आफू आत्मनिर्भर बन्दै सहरलाई आफूले प्रयोग गरेर बाँकी रहेका अन्नबाली तरकारी गेडागुडी, सब्जी फलफूल, दुधजन्य उत्पादन, मह, माछामासु अण्डा नगदेबाली निर्यात गर्न सक्छ । डोकोडालो, नाङ्लो चाल्नो, मान्द्रो, दुना टपरी आदि साना र कुटीर उद्योगका समान पठाउन सके सहर र गाउँको सम्बन्ध प्रगाढ बन्ने थियो ।
शान्त, स्थिर र सभ्य गाउँ
सहरको सभ्यताभन्दा गाउँको सभ्यता धेरै पुरानो हो, सहरी सभ्यता करिब पाँच सय वर्ष पुरानो मात्र मानिन्छ । यद्यपि गाउँ र सहर फरक होइनन् एकार्काका परिपूरक हुन् । समाजशास्त्री चैतन्य मिश्र भन्नुहुन्छ, “गाउँ र सहर छुट्टा छुट्टै होइनन् एक अर्कामा आश्रित बस्तीहरू हुन् । गाउँ र सहर अन्योन्याश्रित हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने छ ।” अबको पुस्तालाई गाउँको अर्ग्यानिक जीवनसहित गाउँ उठ्ने र जाग्ने शिक्षा दिनु पर्छ । समस्या अब गाउँ कसरी जीवित राख्ने भन्ने हो । गाउँको सहरीकरण होइन गाउँको आधुनिकीकरण आवश्यक छ । सहरीकरण र आधुनिकीकरण एकै होइनन् ।
गाउँबाट विस्थापन रोजेकाहरूले ‘आफ्नै गाउँ फर्की आएँ, नयाँ नयाँ सपना ल्याएँ’ भन्ने गीतको भावका साथ गाउँ फर्कनेलाई देशले गाउँमा स्वागत गर्ने परिपाटी बसाल्नु पर्छ । गाउँ आउन किन पनि सजिलो छ भने अहिलेसम्म गाउँको माटो र हावापानीसँग भावनात्मक निकटता रहेको पुस्ता र दस्ता बाँकी छ । भावनात्मक समीप सकिएपछि गाउँ फर्काउन सहज हुँदैन ।
कृषिका अलावा हाम्रो जल, जमिन, जडीबुटी, जङ्गल, हिमाली पर्यटन, पहाडी पर्यटन, धार्मिक पर्यटन, प्राकृतिक सम्पदा सबै अर्थ आर्जन गर्ने प्रचुर सम्भावनायुक्त क्षेत्र गाउँ नै हुन् । गाउँ उज्यालो भए देश उज्यालो हुन्छ गाउँको विकास र परिवर्तन कुनै अलौकिक कुरा होइन जसलाई हाम्रै सपना, मेहनत, मस्तिष्क र हाम्रै खेतबारीमा लाउने प्रयासका पाखुरीबाट सम्भव तुल्याउन सकिन्छ ।