अविनाश चौधरी
धनगढी, पुस २७ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलका उम्मेदवारलाई जिताउनका लागि समिति गठन गरिएको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री मेघराज खड्काको संयोजकत्वमा आज राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन गरिएको हो ।
समितिको सदस्यमा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम सचिव जनकबहादुर बुढा, नेकपा (एकीकृत समाजवादी) का प्रदेश सचिव दिनेशचन्द्र सुवेदी र नागरिक उन्मुक्ति पार्टीबाट पछि सदस्य चयन गर्ने गरी चार सदस्यीय समन्वय समिति गठन गरिएको हो ।
नेपाली कांग्रेसका प्रदेश सभापति एवम् प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरको अध्यक्षतामा आज बसेको सत्ता गठबन्धन दलको बैठकले गठबन्धन उम्मेदवार जिताउनका लागि समन्वय समिति गठन गरेको हो । बैठकमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य दीर्घबहादुर सोडारी, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी, नेपाली कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह (मनु) को उपस्थिति थियो ।
नवगठित समितिले नौ वटै जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुखसंग समन्वय गर्ने जनाइएको छ । सत्तारुद्ध गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नारायणदत्त भट्ट, बलदेव बोहरा र माओवादी केन्द्रका रेणु चन्दको राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी परेको छ । माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ ।