• १६ असार २०८१, आइतबार

अर्घाखाँचीमा पर्यटन प्रवर्द्धन कार्यक्रम हुने

blog

राधा नेपाली 

सन्धिखर्क, पुस २७ गते । अर्घाखाँचीमा पर्यटन, आर्थिक विकास र स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० हुने भएको छ । माघे संक्रातिको अवसरमा गरिने तयारीमा रहेको यस कार्यक्रमका लागि पर्यटकीय क्षेत्रको पहिचान गरिएको छ ।  

कार्यक्रमको औपचारिक उद्घाटन माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रका बारेमा निर्माण गरिएको कार्यक्रमको गीत सार्वजनिक गर्दै राज्यमन्त्री ठकुरीले पर्यटन प्रवर्द्धन कार्यक्रमले जिल्लाको आर्थिक समृद्धिमा टेवा पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन प्रवर्द्धनको गुरुयोजना निर्माणका लागि जिल्लाको वृत्तचित्र बनाउन सात लाख रुपियाँ विनियोजन भएको छ । पर्यटन प्रवर्द्धन कार्यक्रमले जिल्लाको आर्थिक विकासका लागि कोसेढुङ्गा सावित हुनेछ ।”    

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष एवम् मूलआयोजक समितिका संयोजक अशोक खनालले अर्घाखाँचीको पर्यटन प्रवर्द्धन गरी आर्थिक समृद्धिका लागि अभियानहरु सञ्चालन गर्न पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० आयोजना गरिएको बताउनुभयो । जिल्लामा पर्यटनको पर्याप्त सम्भावनाहरु हुँदाहुँदै पनि प्रचारप्रसार र अभियानहरु नहुँदा पर्यटकीय क्षेत्रको विकास हुन नसकेको उहाँको भनाइ छ । 

अध्यक्ष खनालका अनुसार पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण गरिनुका साथै आन्तरिक पर्यटनको पनि विस्तार हुने अपेक्षा गरिएको छ । 

यसबाहेक कार्यक्रम अन्तर्गत पर्यटन सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, जिल्लास्तरीय पर्यटन प्रचासप्रसार समिति निर्माण गर्ने, जिल्लाका करिब ७० जना पत्रकारलाई पर्यटन सम्बन्धी तालिम प्रदान गरिने भएको छ । जिल्लाका पर्यटकीय गन्तव्यहरुको वृत्तचित्र निर्माण गर्ने, पम्प्लेट निर्माण गरी वितरण गर्ने, राजमार्गमा होडिङबोर्ड राख्ने, पर्यटकीय स्थलको फोटो प्रदर्शनी, पर्यटन पदयात्रा, नेपालका मूख्य सहरमा प्रसारप्रसार अभियान सञ्चालन गरिने महासंघले जनाएको छ । 

अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिर हो । जहाँ दैनिक दश हजार पर्यटक आउने मन्दिर व्यवस्थापन समितिका सचिव हरि खनालले जानकारी दिनुभयो । पाणिनि तपोभूमि, बल्कोटको पौवा, छत्र महाराजको मन्दिर, मालारानी, अर्घा दरदबार, खाँचीकोट दरबार, अर्घा भगवती मन्दिर, डमरु दह, दुर्वाश्वेश्वर मन्दिर, शिदेश्वर शिवालय मन्दिर सन्धिखर्क, नरपानी लगायतका मन्दिर र स्थलहरु जिल्लाका पर्यटकीय स्थलहरु हुन् ।