• १९ असार २०८१, बुधबार

तामाङ समुदायको अन्तरकथा ‘मासिन्या’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २७ गते । तामाङ समुदायको कथा बोकेको नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । तामाङहरूले लामो समयदेखि खेप्दै, भोग्दै आएका विभिन्न समस्यालाई नाटक ‘मासिन्या’ मार्फत प्रस्तुत गर्ने जमर्को गरिएको छ । लक्ष्मी रुम्बा, राजु स्याङ्तान अनि रावत, रावतजीहरूको लेखन तथा बुद्धि तामाङ र सोनाम लामाको संयुक्त निर्देशन रहेको नाटक माघ ११ देखि २८ गतेसम्म मण्डला नाटकघर थापागाउँमा मञ्चन हुने भएको छ ।

नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धि तामाङको भनाइ छ । उहाँका अनुसार तामाङको पीडादायी कथासँगै नाटकमा तामाङ जीवनको सौन्दर्य, लय, डम्फु संस्कृति र परिवेशलाई चित्रण गरिने छ । नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने नाट्य समूहको विश्वास छ ।

बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा तयारी भइरहेको नाटकले पूर्ण रूपमा तामाङ संस्कार, संस्कृति, समुदाय र अवस्थालाई प्रस्ट्याउने प्रयास गरेको छ । नाटकमा रूपेश लामा, इङ्गिहोपो कोँइच सुनुवार, रोहनी लामा, रमिला मोक्तान, सानुमाया तामाङ, विजय नेपाल, शीतल ठोकर, प्रशान्त वाइबा, सुनील तामाङ, सचिन लामा, रविन दोङ, विकास लामालाई मञ्चमा देख्न सकिने छ ।