• २४ वैशाख २०८१, सोमबार

सिँचाइको डिप ट्युबवेल प्रयोगविहीन

blog

बटेश्वर गाउँपालिकामा सिँचाइका लागि गाडिएको डिप ट्युबवेल । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, पुस २६ गते । धनुषाको बटेश्वर गाउँपालिकामा सिँचाइका लागि गाडिएका डिप ट्युबवेल प्रयोगविहीन भएका छन् । जमिन मुनिको पानी तानेर किसानको खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउने भनेर तीन वर्षअघि गाडिएको १७ वटा डिप ट्युबवेल प्रयोगविहीन भएका हुन् । 

गाउँपालिकाको अढाई करोड रुपियाँभन्दा बढी लागतमा पालिकाको विभिन्न स्थानमा डिप ट्युबवेलहरू गाडिएका छन् । ट्युबवेल गाडिएको स्थानमा विद्युत लाइन जडान नहुँदा सो ट्युबवेलहरू सञ्चालनमा आउन नसकेको बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले बताउनुभयो । उहाँले विद्युत लाइन विस्तारको काम अगाडी बढाइएको भएपनि चालू आर्थिक वर्षमा ट्युबवेल सञ्चालन ल्याउन नसकिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "विद्युत विस्तारका लागि पालिकाले बजेट विनियोजन गरेको छ । टेण्डर प्रक्रिया पुर्‍याएर काम छिट्टै सुरु हुन्छ । तर, ट्युबवेल सञ्चालनका लागि आर्थिक समस्या छ । ट्युबवेल सञ्चालन गर्न समरसिवल मोटर, प्यानल, पाइप लगायत थुप्रै उपकरण खरिद गर्नुपर्छ । त्यसका लागि पालिकामा बजेट छैन ।" 

चालू आर्थिक वर्षमा विद्युत विस्तारको काम सम्पन्न गरेर आउँदो आर्थिक वर्षमा ट्युबवेल सञ्चालनको प्रक्रिया अगाडि बढाउने अध्यक्ष महतोले बताउनुभयो ।   

यता, डिप ट्युबवेल गाड्ने बेला निकै खुसी देखिएका बटेश्वर गाउँपालिकाका किसान ट्युबवेल सञ्चालनमा नआउँदा निराश भएका छन् । वर्षौँदेखि सिँचाइ समस्या झेल्दै आएका यहाँका किसान यसपालि हिउँदे वर्षा नहुँदा झन् निराश बनेका छन् । 

सिँचाइ अभावकै कारण खेतबारीबाट पर्याप्त उत्पादन लिन नसकेको स्थानीय किसान रामनारायण साहले बताउनुभयो । “ट्युबवेल गाड्दाको अवस्थामा निकै खुसी लागेको थियो,” उहाँले भन्नुभयो, “तर खुसी धेरै दिन टिक्न सकेन । न ट्युबवेल सञ्चालनमा आयो न त खेतबारीमा सिँचाइ भएको छ ।” उहाँका अनुसार ट्युबवेल सञ्चालनमा आयो भने बटेश्वर गाउँपालिकाको एक हजारभन्दा बढी खेतबारीमा सिँचाइ गर्न पुग्छ । अर्का किसान राजलाल महतोले सिँचाइ अभाव र वन्यजन्तुको उपद्रोले यहाँका किसान विस्थापित हुने सङ्घारमा पुगेको बताउनुभयो । उहाँले सक्दो चाँडो सिँचाइ व्यवस्था र वन्यजन्तुको नियन्त्रण हुनुपर्ने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, "सिँचाइ समस्याले खेतबारीबाट मनग्य आम्दानी लिन सकेका छैनौँ भने अलिअलि फलेका अन्न तथा तरकारी बाली बाँदर, निल गाई र बँदेलले नष्ट गरिदिन्छ । हामी किसान निकै मर्कामा परेका छौँ ।"